२०२० मा देशभर ४५ सयको मृत्यु, सडक दुर्घटनामा मात्र २ हजार ४८ को ज्यान गयो • Image Khabar Image Khabar


२०२० मा देशभर ४५ सयको मृत्यु, सडक दुर्घटनामा मात्र २ हजार ४८ को ज्यान गयो


Imagekhabar
१४ माघ २०७७, बुधबार ०९:१८

sindhupalchwok flood

काठमाडौं । सन् २०२० मा देशभर भएका विभिन्न घटनाबाट चार हजार ५०४ मानिसको मृत्यु भएको छ । विपद्मा परेर १०२ बेपत्ता भएको र पाँच हजार २६० जना घाइते भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा बढी सडकमा भएका दुर्घटनाबाट दुई हजार ८४ को मृत्यु भएको छ । कोभिड–१९ का कारण एक हजार ८५६ को मृत्यु भएको छ ।

पहिरोबाट ३०३ ले ज्यान गुमाएका छन् भने ६४ बेपत्ता छन् । बाढीबाट ४२ को मृत्यु र ३७ बेपत्ता भएको प्राधिकरणले जनाएको छ । सर्पदंशबाट २९, आगलागीबाट ५३, चट्याङबाट ८२ जनाको मृत्यु भएको र अन्य विविध घटनाका कारण ५४ जनाले ज्यान गुमाएको प्राधिकरणले आज सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

उक्त विवरण सन् २०२० को जनावरीदेखि डिसेम्बर ३१ सम्मको हो । प्राधिकरणका अनुसार कूल मानवीय क्षति मध्यसडक दुर्घटना र कोभिड–१९ बाट मात्रै ८८ प्रतिशत छ । कोभिड–१९ को संक्रमण अझै पनि जारी रहेकाले सावधानी अपनाउन सरकारले अनुरोध गरेको छ ।

वर्षाको समयमा यस वर्ष विभिन्न जिल्लामा बाढी र पहिरोले ठूलो जनधनको क्षति भएको छ । बाढी, पहिरो आएर धेरै स्थानमा मानवीय क्षति भएको प्राधिकरणले जानकारी दिएको छ । प्रभावित अझै पनि अस्थायी टहरामा बसिरहेका छन् । अहिले सरकराले अनुदानमा आवास कार्यक्रम सञ्चालनको तयारी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्