भोका जनताका अघिल्तिर अजीर्ण नेताको डकार, शक्ति हत्याउन लोकतन्त्रको हूँकार • Image Khabar Image Khabar


भोका जनताका अघिल्तिर अजीर्ण नेताको डकार, शक्ति हत्याउन लोकतन्त्रको हूँकार


Imagekhabar
१२ माघ २०७७, सोमबार ११:५९

भोका जनताका अघिल्तिर अजीर्ण नेताको डकार, शक्ति हत्याउन लोकतन्त्रको हूँकार

सञ्जीव कार्की

जनता यस्तो जबर्जस्त जात हो ऊ हत्तपत्त चेत्दैन । जब चेत आउँछ त्यो करिब करिब ढिलो भै सकेको हुन्छ । २०३७ सालको जनमत संग्रहमा सबै नेपाली पन्च सबै पन्च नेपालीको नारा नै कायम राखियो । अनेकन तिकडम जालझेल गरियो र पहेंलो जण्डिस रङ्ग र जण्डिस भैसकेको व्यवस्थालाई जिताइयो जसमा पनि आम जनता भरपूर प्रयोग भए । राजाको परम्परागत शक्ति र राजाप्रति जनसाधारणको विश्वास र अनवरत भरोशा नै निर्दल विजयीको कारण बन्यो । जनता मासु भात रक्सि र अनेकन लोभ त्रास र भयमा बिके प्रभावित बने राजाको नाम बिकेर, बिकाएर पंचायती व्यबस्थालाई जित्न सुगम भयो,यद्दपि जित सहज होइन तर राजा भन्ने आम मान्छेको मन मस्तिस्कमा रहेको आस्थाको बल नै निर्दलीय पंचायत जिताउन काफि भन्ने मूल कारण रह्यो । बहुदल जित्दा राजा रिसाउँछन् तसर्थ बाबु राजाले जन्माएको पंचायत छोरा राजाको राजपाठमा मार्नु हुन्न पाप लाग्छ भन्ने धार्मिक मनोविज्ञान पनि बहुदल हराउन सहायक सिद्ध भयो ।

जनताको छोरोले नेतृत्व गरेको निलो बहुदल पराजित भयो राजाले नेतृत्व गरेको निर्दल विजयी बन्यो । चुनाव जे जसरी सम्पन्न भए र नतिजा जस्तो आए पनि अबलम्बन गरिएको प्रजातान्त्रिक पद्दति र भोलिको शुभ विहानीको संकेतले कांग्रेसका नेता बीपीले चुनाबी नतिजा स्वीकार गरे । आफ्नो निष्ठालाई कायम राखे । तर चुनावमा जनतालाई खुब प्रयोग गरिन्छ । सपनाको खेती गरिन्छ यी सबको खातिर प्रयोग हुने जनता नै हुन् । चुनावी प्रक्रियामा जनता लडाइन्छ मारिन्छन भिडन्तमा । हरेक चुनावमा जनलाई जनार्दन र न्यायाधिस भनिन्छ भाग्य विधाता घोषणा गरिन्छ । भाग्यबिधताको चेत हिजो एक छाक मासु भात रक्सिमा बिक्थ्यो भने नयाँ संस्करण र परिवर्तनमा मोटरसाइकलमा पेट्रोल पकेट मनि र केहि आश्वासनमा आज पनि बिक्छ प्रवृतिको निरन्तरता यद्दपि दुरुस्तै छ केवल फेरिएको छ स्वरुपमा । चुनाव जित्ने ढाँचाकाँचा आज पनि उस्तै छ मनि, मसल्स, मोटरसाइकल र मोबाइल । चुनाव सिद्धान्त पद्दति विधि र प्रक्रिया निति नैतिकताले जितिन्न ।

इमानले कहिले चुनाव जित्छ र जित्यो होला चुनावका हिमायतीलाई यो प्रश्न म बारम्बार सोधी रहन्छु । सायद हाम्रो जस्तो चुनाव प्रणालीको सबैभन्दा ठूलो दुर्गुण भनेकै इमान नैतिकता सादगी र सत्यले चुनाव कहिल्यै नजित्नु हो । सत्य निष्ठा र समर्पण नैतिकता र इमान चुनावमा यति नराम्रोसँग पराजित हुन्छ कि त्यो पराजयलाई देखेर मान्छेलाई निष्ठामा रहने मन मरेर जान्छ । एउटा लफंगा फटाहा, भ्रष्टाचारमा निर्लिप्त उदण्ड चुनाव सजिलै जित्छ तर एक निष्ठावान समाजसेवी प्राज्ञिक र बौद्दिकले उस्तै परे चुनावी प्रक्रियामा मनोनयन गर्ने कुरा सुनेर मान्छेहरु खिज्याउँछन, पहिले नै हतोत्साहित गर्छन चुनाव नउठन सुझाउँछन् त्यति मात्रै नभएर कोही समर्थक र प्रस्तावक बन्न मन पराउदैनन । यसबाट थाहा लाग्छ हाम्रो चुनाव कस्तो हुन्छ र कसले जित्छ ? किन्चित योग्य समाजले असल र गुणकारी देखेको मान्छे उमेद्वार बन्यो भने उसको जमानत जफत सामान्य कुरा भोट नै अत्यन्तै लाजमर्दो आउँछ । आज हामी यस्तो चुनावको अभ्यासमा अभ्यस्त छौ । तर हाम्रो सपना आकांक्षा र देश विकासको गति तीव्र हुनुपर्ने र नेता आदर्श देखिनु पर्ने देखिन्छ ।

अयोग्य नेता छानेर योग्य कामको परिकल्पना आफैमा विरोधाभाष होइन र ? आज चर्चित भनिएका र आम मान्छेले रुचाएका निष्ठा र बेदाग बसेका कुन चै मान्छेले स्वतन्त्र रुपमा चुनाव उठेर र पैसा खर्च नगरी चुनाव जित्ने स्थिति छ ? सर्बाधिक चर्चा पाएका र जनतालाई राहत दिएका उज्यालो नेपालका मानक बनेका कुलमान घिसिंग समेत कुनै पार्टीको छातामा ओत नलागी चुनाव जित्ने सामर्थ्य यो व्यवस्था र अवस्थाले दिंदैन । आज कुलमानको जय भनेर हिड्नेहरु भोलि कुलमान स्वतन्त्र उमेद्वार बन्ने स्थिति बन्यो भने अमुक पार्टीको प्रचारक बन्छन कुलमान भुल्छन त्यस्तो संस्कार र संस्कृति निर्माण गरेको छ दलीय राजनीतिले । दल प्रधान देशमा दलीय प्रतिस्पर्धा स्वाभाविक भए पनि दलको उमेद्वार निष्ठा समर्पण र सेवामा लाग्ने बन्न नसक्नु बने पनि त्यस्ता उमेदवार पराजित बन्नु र मौसमी उमेद्वार मात्रै योग्य देखिनु आजको राजनीति जटिल महंगो र अनैतिक बन्नुको कारण सम्भव भएको हो । नैतिकताको स्थान गौण नगन्य लगभग शुन्य तर धन, डन र गन चै प्रधान देखिनु र समाजको मनोविज्ञान पनि त्यस्तैको भरोषामा लाग्नु दुर्भाग्यपूर्ण छ । पत्रकार विजय पाण्डेको शश्द सापटीमा भन्ने हो भने यो यूग वैश्य यूग हो यहाँ हर कुराको व्यापार हुन्छ । कारोबार हुन्छ नाफाघाटाको हिसाब गरिन्छ । व्यक्तिगत मामला र निजी जिन्दगीमा समेत व्यापार र नाफाको हिसाब पैसामा जोडिन्छ गरिन्छ तसर्थ यो यूग वैश्य यूग हो पैसाको यूग हो पैसा बिनाका कुरा फजुल र व्यर्थ हुन् । त्यसैले नैतिकता इमान र निष्ठाको कद बोल्न ठिक छ धारण गर्न र उचालेर हिडन मिल्दैन, सकिदैन र समाज त्यो ल्याकत राख्दैन । देशमा चुनाव फेरि आइसक्यो त्यो चुनावमा दुई खेमाको विशेष प्रतिस्पर्धा छ । बहालवाला प्रधानमन्त्री ओली खेमा र भूतपूर्व प्रधानमन्त्रीहरुको क्लब जसको नेतृत्व माधव र प्रचन्डले गरेका छन् । नेकपा भन्ने पार्टीको चिहान खन्दै दुवै गुट शक्ति प्रदर्शन गर्ने भाले भिडन्तमा उत्रेका छन् । अहिले जे प्रदर्शन भै रहेको छ यो मिनी चुनाव हो यहाँ भोट खसाल्नु पर्दैन तर मान्छे बटुल्नु मास देखाउनु र तँ भन्दा म केकम देखिनुको भाव प्रकट गरेर थुप्रै टाउका शहरमा भेला गर्नु चोक चोकमा उराल्नु रहेको छ यो पनि दुई बिचको चुनावको झलक त् तागत देखाउने मेलो हो ।

जनता जनार्दन सोझा छन् जता पनि जान्छन मासुभात खान्छन रक्सी पनि बुत्याउछन् अलि बढी हैसियत हुनेले बाइकमा तेल र पकेटमा रकम पनि भित्र्याउछन् कतिलाई यो पैसा आर्जन गर्ने धन्दा भएको छ । स्वेच्छाले भन्दै रकम तोकेर असुल्छन ब्यापारी ब्यबसायी धम्काउँछन र बदलामा जुलुस गइ दिने जनतालाई मासुभात रक्सि खुवाएर एक दिनको राम रमिता देखाउन सहर बजार ओसारपसार गर्छन । हिजो कोविडको संकटमा सयौ हजारौ किलोमिटर भोक भोकै सहर देखि हप्तौ लगाएर गाउँ जाँदा कुनै यातायातको साधन नपाएका जनताले आज पार्टीको कार्यकर्म हेर्न गाउँ गाउँमा मोटरहरु ओसारिन पसारिन टोल टोलमा पुगेको देखेका छन् । सित्तैमा सहर घुम्ने मोटर चढ्ने, मासुभात खाने र जाडोमा जकेट जुत्ता चप्पल पनि पाउने आश्वासन जनताको दैलोमा पुगिसक्यो । क्या भाग्यमानी जनता, प्रचण्ड माधव खेमाले जनतालाई माघ नौ मा काठमाडौँ भ्रमण गराएर आफ्नो शक्ति प्रदर्शनको हतियार बनायो भने सत्तासीन पार्टीले पनि २३ गते काठमाडौँमा प्रदर्शन गरेर शक्ति र आम सभा कस्तो हुन्छ जनपरिचालन कसरी गरिन्छ अनि मान्छे कसका कति हुन्छन त्यो देखाउने उदघोष प्रधानमन्त्रीले गरेका छन् । त्यतिमात्रै होइन सभामा आउने सर्वसाधारणलाई सत्तावाला पार्टीका हुनुको नाताले विशेष सुबिधा र सेवा तडकभडक हुने कुराको छनक नेकपा ओलीका नेताहरुको बोली वचनमा प्रति बिम्बित भएको पाइन्छ । जसरी पनि हामी ठूला र हाम्रा समर्थक धेरै भन्ने इगोको कारण धेरै भन्दा धेरै मान्छे काठमाडौँ उतार्ने र धेरैको उपस्थिको लागि जाते आते र खातेका आकर्षक प्याकेज पनि घोषणा गरिदै ल्याइने पक्का छ ।

सवाल मान्छे धेरै ल्याउनु र आउनुमा जनताले एक छाक मिठो मसिनो खानु र शहरको झिलिमिली देख्नुमा होइन ती सबको बन्दोबस्तीको खर्च कुन श्रोत र कसरी जम्मा गरिन्छ अनि त्यस बापत रकम दाताले भोलि के पाउँछन अनि जनताले के गुमाउनु पर्छ भन्ने भित्री कारण हो । राज्य स्रोतबाट रकम पार्टीको लागि कसरी स्थान्तरण गरिन्छ भन्ने हो ? सर्वसधारण जनतालाई यसको मतलव हुन्न तर देश समाज र पार्टी अनि सरकारको नीति र नियति बुझेका मान्छेले सरोकार राख्नु र प्रश्न गर्नु बान्छनीय हुन्छ । राजनीतिक पार्टी सम्बद्द बुद्दिजीवी र पार्टीहरुको सुद्दिकरण र पारदर्शिता चाहनेले यो विषयलाई घनिभूत रुपमा उठाएर पार्टी पदाधिकारीहरु, जिम्वेवार नेता कार्यकर्तालाई जबाफदेही बनाउनु आवश्यक छ ।

जनता राजनीतिक पार्टीको सबै किसिमका क्रान्ति विद्रोह र व्यवस्था परिवर्तनको लडाईमा अग्रमोर्चामा रहेर बलिदान गरेका छन् आफ्नो भोक र गरिबी हटाउने आकांक्षा बोकेर राजनीतिक पार्टीलाई काँध थाप्न र तिनको आव्हान मानेर दौडन थालेको ७० वर्ष भयो । यस दौरानमा राणा फालिए , राजा फालिए गणतन्त्र भित्रियो । सशस्त्र युद्ध, शान्तिपूर्ण जनान्दोलन, मधेश विद्रोह सबै सबै राजनीतिक प्रयोग आन्दोलन र व्यवस्था परिवर्तनका घटना परिघटना भए तर जनताको आधारभूत आवश्यकतामा खासै परिवर्तन भएन बरु जटिल र जिकज्याक बनाइयो तथापि जनता राजनीतिक पार्टी जसले बिसौ तीसौ वर्ष आफ्नो अकर्मन्यता प्रदर्शन गरे तिनैको विश्वासमा सडकमा निस्कन्छन,तिनकै जय विजय गाउछ्न ।

हिजो राजा फाल्न सडकमा निस्किएका जनता आज राजा चाहियो भन्दै उसैगरी सडकमा निस्कन्छन । राजा फाल्न सडकमा निस्कने जनता यति छिटै राजा चाहियो भन्दै सडकमा निस्कनुमा जनतामा रहेको न्यून चेतना र आफू किन सडकमा र कसले प्रयोग गर्दैछ भन्ने चेत नहुनुले हो । हिजो माधव प्रचण्डको बिरोध सभामा आएका जनता पून प्रधानमन्त्रीओली खेमाले २३ गते गर्ने काउन्टर सभामा पनि उत्तिकै उत्साह बोकेर गाउँ गाउँ बाट ओइरिन्छ्न । जनता आफ्नो दीर्घकालीन भोक समन गर्न नभएर अल्पकालीन भोक आजको खाली पेट भर्न रमाएर कुदछन तसर्थ पार्टीहरुलाई समर्थक प्रदर्शन गरेर मेरो शक्ति यति भनेर घमण्ड गर्न सहज छ । सोझा सिधा जनता हुनुको फाइदा पार्टीहरले लिएका छन् । आफू कुन प्रयोजनको लागि ल्याइएको हो जनतालाई थाहा हुदैन तर सभा हेर्ने,काठमाडौँ आउने रहर र आकांक्षाको भोकले सडक भरिन्छ राजनीतिक पार्टीलाई भाषण र शक्ति प्रदर्शनको मनसुवा पुरा हुन्छ ।

प्रतिक्रिया दिनुहोस्