ओलीलाई घुँडा टेकाएर मात्र आन्दोलन रोकिन्छः खनाल–भुषाल • Image Khabar Image Khabar


ओलीलाई घुँडा टेकाएर मात्र आन्दोलन रोकिन्छः खनाल–भुषाल


Imagekhabar
९ माघ २०७७, शुक्रबार १५:१७

ओलीलाई घुँडा टेकाएर मात्र आन्दोलन रोकिन्छः खनाल–भुषाल

काठमाडौं, माघ ९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षका नेताहरुले प्रधानमन्त्री केपी ओलीलाई घुँडा टेकाएरै छाडिने दृढता देखाउनुभएको छ ।

सत्ता र शक्तिको संघर्षमा संसदमा दुई तिहाई नजिकको बहुमत कुल्चिएर संसद विघटन गरेपछि नेकपाका नेताहरु आपसी आरोप प्रत्यारोपमा सडकमा ओर्लिएका छन् ।

यसक्रममा शुक्रबार काठमाडौंमा गरेको विरोध सभामा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका झलनाथ खनाल र पूर्वमन्त्री घनश्याम भुषालले ‘ओलीले जबसम्म घुँडा टेक्दैनन् त्यसबेलासम्म आन्दोलन जारी राख्ने’ बताउनुभएको हो ।

नेता खनालले पुस ५ मा प्रधानमन्त्री ओलीले गरेको प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भन्दै पार्टी अध्यक्षबाट हटाइएका ओलीलाई अब पार्टीबाटै निकाल्ने चेतावनी दिनुभयो ।

ओलीलाई भगौडाको संज्ञा दिँदै खनालले संसद विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहे पनि सर्वोच्चले संसद पुनर्स्थापना गर्ने विश्वास व्यक्त गर्नुभयो ।

नेता भुषालले ओली पराजित हुनुको विकल्प नभएको भन्दै ओलीसँग अब साइबर सेना भनिने साइबर स्याल र सेटिङ मात्र बाँकी रहेको टिप्पणी गर्नुभयो ।

भुषालले ओलीले अदालतसँगसमेत सेटिङ गरेको आशंका गर्दै भन्नुभयो, ‘यो अदालत तपाईंको सेटिङका कारण डराएर तपाईंको पक्षमा फैसला गर्छ भन्ने लागेको छ भने तपाईं गलत हुनुहुन्छ ।’

भुषालले समय छँदै नसोचे ओलीलाई इतिहासको कठघरामा उभ्याइने चेतावनी पनि दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्