युवा–विद्यार्थीलाई उत्तेजित पार्दै दाहालले भने–‘शाकाहारी आन्दोलनले भएन, एकपटक लाठी खान मन छ’ • Image Khabar Image Khabar


युवा–विद्यार्थीलाई उत्तेजित पार्दै दाहालले भने–‘शाकाहारी आन्दोलनले भएन, एकपटक लाठी खान मन छ’


Imagekhabar
४ माघ २०७७, आईतवार १७:०६

युवा–विद्यार्थीलाई उत्तेजित पार्दै दाहालले भने–‘शाकाहारी आन्दोलनले भएन, एकपटक लाठी खान मन छ’

काठमाडौं, माघ ४ । नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले अहिलेको आन्दोलन शाकाहारी जस्तो भएकाले लाठी खाने खालको उत्तेजित आन्दोलन गर्न युवा–विद्यार्थीलाई उक्साउनु भएको छ ।

काठमाडौंमा आफूसम्बद्ध अनेरास्ववियुको भेलामा आक्रामक आन्दोलन गर्न युवा विद्यार्थीहरुलाई निर्देशन दिँदै दाहालले भन्नुभयो, ‘शाकाहारी आन्दोलनले पुग्ने देखिएन । हाम्रो आन्दोलन आवेगमय हुनुपर्‍यो । आक्रामक हुनुपर्‍यो । बाघ र सिंह गर्जिए जस्तो हुनुपर्‍यो । प्रतिक्रान्तिकारीको मुटु हल्लिनुपर्‍यो ।’

कार्यकर्ताको रक्षाका लागि आफू टाउको फुटाउन तयार रहेको र त्यस्तो आन्दोलनको अग्रमोर्चामा आफै रहने भन्दै अध्यक्ष दाहालले थप्नुभयो, ‘टाउको चिलाएको हो कि के हो, एक पटक लाठी खान मन छ ।’

प्रधानमन्त्री ओलीले आफूले जनता हसाउँदा प्रचण्डलाई पीर परेको अभिव्यक्ति दिएका सन्दर्भमा दाहालले प्रतिनिधि सभा विघटनपछि देश स्तब्ध भएकाले आफू हाँस्न नसकेको टिप्पणी गर्नुभयो ।

नेपाली जनताले सात दशक लडेर ल्याएको उपलब्धिको हत्या भएको भन्दै दाहालले घरपरिवारका सदस्य मरेपछि त्यसबेला हाँस्न नसकिने टिप्पणी गर्नुभयो । प्रधानमन्त्री ओली जनताले गणतन्त्र ल्याउँदा रुँदै र बयलगाडाको कथा हाल्दै हिँडेको पनि उहाँको भनाइ थियो ।

प्रधानमन्त्रीको भाषण र हँसाईलाई दाहालले ‘जोकरको जोकिङ’को संज्ञा पनि दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्