
चितवन, भदौ ८ । चितवनमा डेंगीको संक्रमणका कारण एक वृद्धको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भरतपुर महानगररपालिका–२ गङ्गोत्रीमार्ग निवासी ७१ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार उनको उपचारका क्रममा मृत्यु भएको जानकारी भदौ ६ गते कार्यालयलाई दिइएको हो । ती वृद्धको साउन ३१ गते चितवन मेडिकल कलेजमा मृत्यु भएको थियो ।
मृतकको नाम गोप्य राखिएको छ । सामान्य ज्वरो आएर साउन २९ गते भरतपुर सामुदायिक अस्पतालमा उपचार गराउन गएका उनको उपचार हुन नसकेपछि चितवन मेडिकल कलेजमा पठाइएको थियो ।
जिल्लामा केही दिनयता डेंगीको संक्रमण बढ्दो छ । साउन यता भदौ ६ गतेसम्म जिल्लामा ५६७ जनाको परीक्षण गरिएकामा २२५ जनामा डेंगीको संक्रमण भेटिएको छ । तीमध्ये ४० प्रतिशत भरतपुर महानगरपालिकाका छन् ।
प्रतिक्रिया दिनुहोस्