Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


लोकतन्त्रको रक्षा गर्न कम्युनिष्टलाई सिध्याउनैपर्ने : सभापति देउवा


0
Shares

सुर्खेत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वसत्तावादी कम्युनिष्टलाई सिध्याउनुपर्ने बताएका छन् ।

आज सुर्खेतको वीरेन्द्रनगरमा पत्रकारसँग संक्षिप्त कुुरा गर्दै सभापति देउवाले वर्तमान सरकार पूर्ण प्रजातन्त्रभन्दा फरक दिशामा गइरहेको बताउँदै लोकतन्त्रको रक्षा गर्न कम्युनिस्टलाई सिध्याउनैपर्ने बताए ।

सभापति देउवाले ओली सरकारकै कारण भ्रष्टाचार बढेको टिप्पणी गरे ।

उपभोक्ता समितिका नाममा बजेट स्वाहा गर्ने क्रम बढेको र कर बढाएर सर्वसाधारणलाई मारमा पारिएको सभापति देउवाको आरोप छ ।

शुक्रबार अर्को एक कार्यक्रममा पनि देउवाले जनताको मत पाएर कम्युनिस्टहरू सरकारमा पुग्नु ठूलो विषय नभएको तर्क गर्दै सर्वसत्तावादी कम्युनिस्ट शासन लाद्नुलाई गम्भीर रूपमा लिनुपर्ने बताएका थिए ।

‘कांग्रेसले राणा, पञ्चायत र राजतन्त्र फालेर अहिलेको व्यवस्था ल्याएको हो,’ सभापति देउवाले भने, ‘अब अन्तिमपटक कम्युनिस्ट शासन अन्त्यका लागि लड्न सबै तयार हुनुपर्छ ।’

उनले दुई तिहाइ बहुमत प्राप्त कम्युनिस्ट सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका साथै संगठित हुने अधिकारसमेत खोस्दै लगेको दाबी गरे ।