
दाङ, भदौ ६ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्सकहरुले सामूहिक राजीनामा दिएको जानकारी नभएको दाबी गरेको छ ।
प्रतिष्ठानले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै चिकित्सकहरु पनि आ–आफ्नो काममा खटिएको र सामूहिक राजीनामाको जानकारी कतैबाट नपाएको बताएको हो ।
कुनै कार्यक्रममा सहभागी चिकित्सकहरुको हस्ताक्षर दुरुपयोग गरिएको भन्दै सन्चारमाध्यममा आएको राजीनामापत्रमा विश्वास नगर्न प्रतिष्ठानकी उपकुलपति संगीता भण्डारीले आग्रह गरेकी छन् ।
प्रतिष्ठानमा कार्यरत् नाक, कान, घाँटीरोग विशेषज्ञ डा. विक्रम बुढाथोकीले पनि आफूहरुले सामूहिक राजीनामा नदिएको बताएका छन् ।
यसअघि, सो प्रतिष्ठानका चिकित्सक तथा कर्मचारीहरुले सामूहिक राजीनामा दिएको बताइएको थियो ।
उपकुलपति भण्डारीले विभिन्न बहानामा स्पस्टीकरण सोध्ने, बर्खास्त गर्ने धम्की दिनेलगायतका काम गरेको आरोप लगाउँदै उनीहरुले सामूहिक राजीनामा दिएको बताइएको थियो ।
प्रतिष्ठानमा काम पनि सुचारु रहेको दाबी पनि व्यवस्थापनले गरेको छ ।
प्रतिक्रिया दिनुहोस्