२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


‘एनओसी’को निर्वाचनका लागि मताधिकार प्रतिनिधि तोकियो, पिताम्बर तिम्सिनाको आगमन


0
Shares

काठमाडौं, भदौ ४ । यही भदौ २० गते हुने नेपाल ओलम्पिक कमिटी (एनओसी)को नयाँ कार्यसमितिको निर्वाचनका लागि मताधिकार प्रतिनिधिको टुंगो लागेको छ ।

बुधबार अपराह्न ५ बजेसम्मको समय दिइएकामा नयाँ अनुहारकारुपमा अन्तिम समयमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का उपाध्यक्ष पिताम्बर तिम्सिना आएका छन् ।

उनी एथ्लेक्टिस संघको प्रतिनिधिकारुपमा मताधिकार लिएर आएका हुन् ।

यसअघि, एथ्लेटिक्स संघबाट राजीव शाह आएपनि उनको स्थान तिम्सिनाले लिएका हुन् ।

तिम्सिनाले आफू मताधिकारसहित आएको स्पस्ट पार्दै ओलम्पिक कमिटीको सर्वसम्मत् नेतृत्व चयनका लागि भूमिका खेल्ने बताएका छन् । उनले आफू पनि कार्यसमितिमै रहनेगरी आएको दाबी गरेका छन् ।

त्यस्तै, बक्सिङ संघबाट हालको कार्यसमितिमा उपमहासचिव रहेका राजीव श्रेष्ठ क्यानोइङ संघबाट मताधिकार लिएर आएका छन् ।

दुईजनाको यो छलाङले नयाँ समीकरण बन्ने अपेक्षा गरिएको छ ।

नयाँ कार्यसमिति १९ सदस्यीय हुनेछ । यसअनुसार अध्यक्ष, पाँच उपाध्यक्ष, महासचिव, सहमहासचिव, कोषाध्यक्ष, तीन सचिव र सात सदस्य रहनेछन् ।

त्यस्तै, निवर्तमान अध्यक्ष मानार्थ अध्यक्ष रहने प्रावधान हटाइ कुनैपनि पूर्वअध्यक्षहरुलाई मानार्थ बनाउने प्रावधान राखिएको छ ।

नेतृत्वका लागि वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठ र पूर्वउपाध्यक्ष उमेशलाल प्रधानबीच प्रतिस्पर्धा हुनेछ । यसअघिको निर्वाचनमा पनि यी दुवैबीच भिडन्त भएको थियो ।