Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


संसदमा राँगादेखि ज्योतिषसम्मका कुरा


0
Shares

काठमाडौं, भदौ ३ । भन्सार छलेर काठमाडौं भित्रिएका राँगा, ज्योतिष पेसाको सन्चालन अनुमतिपत्र र स्थानीय तहका लागि लोकसेवा आयोगले खोलेको विज्ञापनसम्बन्धी विषयले प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रवेश पाएको छ ।

बैठकको शून्य समयमा भाग लिँदै सांसद विरोध खतिवडाले भारतबाट लामो समयदेखि भन्सार नाका भएर राँगा–भैंसी नेपाल नभित्रिएपनि काठमाडौंमा मःम र छोयलाको अभाव नभएको देख्दा चोरी बाटो प्रयोग भएको हुनसक्नेप्रति सरकारको ध्यानाकर्षण गराए ।

उनले भने–‘वार्षिकरुपमा भारतबाट १० हजारको संख्यामा राँगा, भैंसी नेपाल भित्रिने गरेको छ । प्रतिराँगा–भैंसी रु ८५६ राजश्व आउँथ्यो, त्यो गुमेको छ । त्यसतर्फ सरकारको ध्यान पुगोस् ।’

सांसद विमला विश्वकर्माले चिकित्सक, वकिल, इन्जिनियरजस्तै ज्योतिष पेसा सन्चालनका लागि अनुमतिपत्र अनिवार्य गर्ने व्यवस्था मिलाउन ध्यानाकर्षण गराइन् ।

उनले भनिन्–ज्योतिष पेसा सन्चालन गर्नेको ठूलो आर्थिक कमाइ भएको हुँदा उनीहरुलाई राज्यले करको दायराभित्र ल्याउन जरुरी छ । त्यसका लागि पहिले व्यवसाय सन्चालन गर्न चाहनेका लागि अनुमतिपत्रलाई अनिवार्य गर्न आवश्यक छ ।’

सांसद मीनबहादुर विश्वकर्माले ‘लोकसेवा आयोगले पछिल्लोपटक स्थानीय तहका लागि लिएको विज्ञापन र त्यसपछिको परिस्थितिको विश्लेषण गर्ने हो भने सरकार संविधानविपरीत हिँडेको तथा नागरिक सरकारलाई संविधानको पालना गर्नोस् भनेर चिच्याइरहेकोजस्तो देखिन्छ’–भने ।

सांसद विना श्रेष्ठले अविरल वर्षाका कारण मुलुकका कयौं भागमा पुल र कल्भर्ट बगाउँदा धेरै जनताले आवतजावत गर्न अप्ठ्यारो परिस्थिति भोग्नुपरेकाले छिटो ती संरचना पुनःनिर्माण गर्न माग गरिन् ।

सांसद शान्ता चौधरीले पत्रकार शालिकराम पुडासैनीको मृत्युका सम्बन्धमा भइरहेको प्रहरी अनुसन्धानलाई प्रभाव पार्ने ढंगबाट गरिएको जुलुस र प्रदर्शनीले कानुनी राज्यको उपहास गरिरहेको बताइन् ।

सांसद शान्तिमाया पाख्रिनले लोकसेवा आयोगको विज्ञापनकाबारेमा सरकारको ध्यानाकर्षणका लागि भएको प्रदर्शनीमा प्रहरी हस्तक्षेप भएकोप्रति सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद सत्यनारायण शर्मा खनालले बर्दघाट–हेटौंडा १३२ केभी विद्युत् प्रसारणलाइन घनाबस्ती क्षेत्रभन्दा बाहिरबाट लाने व्यवस्था गर्न सुझाव दिए ।

सांसद सरलाकुमारी यादवले ‘मुुलुकभर कुकुरको टोकाइबाट वर्षेनि ५० जनाभन्दा बढीको मृत्यु हुनाका साथै चार हजारभन्दा बढी व्यक्तिले रेबिजविरुद्धको खोप लिनुपरिरहेको अवस्थामा भुस्याहा कुकुरको व्यवस्थापन होस्’–भनिन् ।

सांसद सरिताकुमारी गिरीले तराई–मधेसमा पानीमा भएको ‘आर्सनिक’बाट धेरै जनताले विभिन्नखाले रोगसँग लड्नुपरेको हुँदा त्यसलाई ‘नियन्त्रण गर्ने कुनै उपाय छ कि ?’ भनी प्रश्न गरिन् ।

सांसद सानु सिवाले ‘नेपाल भ्रमण वर्ष नजिक आइसक्दासमेत नेपालको ठूलो पर्यटनको सम्भावना बोकेको इलाममा विमानस्थल किन सन्चालन गरिएन ?’ भनी प्रश्न गरिन् ।

सांसद सीतादेवी यादवले ‘जनप्रतिनिधिले शून्य समयमा बोलेका कुराको  कार्यान्वयनको अवस्था किन शून्य रह्यो ?’ भनी प्रश्न गरिन् ।

सांसद सुजाता परियारले समानुपातिक र समावेशी सिद्धान्तका आधारमा राज्य सन्चालन गर्ने संवैधानिक व्यवस्था भएपनि ‘लोकसेवा आयोगले त्यसलाई ‘बेवास्ता गर्दा’ राज्य किन मौन रह्यो ?’ भनी चासो व्यक्त गरिन् ।

सांसद हितबहादुर तामाङले पत्रकार पुडासैनी आत्महत्या प्रकरणको अनुसन्धानलाई अघि बढाउनेक्रममा ‘कानुनी राज्यको उपहास गर्ने ढंगबाट गैरसंवैधानिक नारा उठाएकाले त्यसलाई नियन्त्रण गर्न आवश्यक छ’–भने ।

सांसद हीरा गुरुङले लोकसेवा आयोगको विज्ञापनसँग जोडेर ‘संविधानले आरक्षण गरेको विषयलाई संवैधानिक अंगबाटै किन बेवास्ता गरिएको ?’ भनी प्रश्न गरिन् ।

सांसद बहादुरसिंह लामाले ‘बाढी–पहिरोबाट भत्किएका पुल र सडक कहिलेसम्म बन्छ ?’ भनी प्रश्न गरे । रासस