खिया लागेको नटबोल्ट अर्थात् भेट्नो कुहिएर झरेको फल भयो नेकपा « Image Khabar


खिया लागेको नटबोल्ट अर्थात् भेट्नो कुहिएर झरेको फल भयो नेकपा


Imagekhabar
२० पुष २०७७, सोमबार ०८:०८

ncp unification day

संजिव कार्की

प्रधानमन्त्री ओलीको वाक पटुता र चातुर्यता जति छ त्यति नै छ नीचताको पराकाष्ठ पनि । आफू बिरामी भएर उपचार गर्न जान लाग्दा स्वास्थ्य लाभको कामना गर्न पुगेका माधव नेपालको स्वास्थ्य लाभ चाहिन्न भनेर माधव नेपाललाई लज्जित बनाएर फर्काएको एक वर्ष र केही महिना मात्रै भयो । परम शत्रुको समेत स्वास्थ्य लाभ र मृत्यु वियोगमा द्रवित हुने मानवीय स्वभाव हुन्छ तर स्वास्थ्य लाभको कामना गर्न गएका माधव नेपाललाई मृत्युको कामना गर्न आएको भनेर प्रधानमन्त्री ओलीले बालुवाटारमा दुर्वाच्य बोलेर अपमानित गरे । माधवको दिलमा त्यसले ठूलो चोट र स्वाभिमानमा ठेस नमज्जाले लागेको थियो पक्कै पनि ? सतहमा देखिएका र सुनिएका कारण मात्रै प्रयाप्त हुदैन बिखन्डन र विद्रोहको लागि ।

व्यक्तिगत मान सम्मान अपमान र अपहेलना बेवास्ता र उपेक्षा पनि कारण बनिदिन्छ । कमरेडहरूको सिद्दान्तहीन आलोचना तुच्छ गालीगलौज, आरोप प्रत्यारोप लान्छना र अशिस्ट व्यंग्यवाण निन्दा र बदख्वाइले यतिबेला राजनीतिको आकाश धमिलो र विषाक्त देखिएको छ । सुन्न नसक्ने अभिव्यक्ति अश्लिल नाराबाजी र विद्रूप प्रदर्शनले सडक घीनलाग्दो भएर रंगिएको छ । एकातिर संबिधानको बलात्कार गरिएको छ भने अर्को तिर सामाजिक मर्यादा र स्तरको हुर्मत बिटुलो बनाइएको छ । यो सब करामत दुई तिहाइ बहुमतको सन्निकट दलको अक्षमताको कारण भएको कुरामा दुई मत छैन यद्दपि यो स्वीकार गर्न दुवै खेमा तयार छैन । किनकि उनीहरु दोष आफू होइन एकअर्कोलाई मात्रै देखिरहेछन । समस्याको जड यही हो,कुरो बिग्रने परिस्थिति यही हो । कमजोरीमा क्षमा माग्ने , क्षमा दिने र विनयी बन्ने प्रयत्नले मात्रै पनि धेरैहद सम्म समस्या निराकरण गर्न र सहजानुभुति सिर्जना गर्न सकिन्थ्यो तर नेकपा भित्रको परस्परको दम्भ अविश्वास र अहंकार अनि आफू र आफ्नो समुह मात्र श्रेष्ट अरु निक्रिस्ट सम्झने मनोबृतिको शिकार नेकपा नेताकार्यकर्ता बनेकोले यो विषम परिस्थिति खडा भयो ।

आफू सबल तर अर्को निर्वल,म मात्रै र मेरो समुह गुट मात्रै सक्षम अरु असक्षम भन्ने अहम नै नेकपा भित्रको क्यान्सर हो जसलाई दुवै पक्ष स्वीकार गर्न तयार भएनन जसको कारण खिया लागेको नट बोल्ट झरेको होइन पुरै शरीर फतक्क गलेर कुहिएर झरेको हो, काम नलाग्ने बनेको हो । भित्र भित्र फैलिएको फर्स्ट स्टेजमा उपचार नपाएको अर्बुद रोग एजेरु बनेर अहिले उपचार नहुने अवस्थामा पुगेको छ । यसको मृत्यु अवश्यमभावी छ तर मृत्यु नहुन्जेल औषधि विज्ञानको देनको कारण पेन किलर खाएर पनि स्वास्थ्य रहेको स्वांग गर्छ शरीर । नेकपाको शरीर अहिले त्यस्तै फुर्ति गरिरहेछ जबकी यसलाई राजनीतिक रुपमा यो ढोंग चहिएको छ तर यथार्थ जे देखिन्छ त्यो छैन अन्तर्य कहालीलाग्दो छ । यसका सबै अवयव क्षतविक्षत छन । सबै पाट पुर्जामा खिया लागेको र बाँकीमा लाग्ने क्रम तीव्र छ । गाडी भीरको यात्रामा छ तैपनि ड्राइभर आफ्ना प्यासेन्जर नडराउन भनेर सुरक्षित यात्रामा छौ भन्ने भ्रम छर्दैछन् । ड्राइभर ओली हुन या प्रचण्ड माधव यी दुवै खेमाले यात्रुलाई धोका दिइरहेका छन् । इन्जिन सिज्ड हुँदै गरेको गाडी दौडाउदै भर्खर इन्जिन फेरेको गाडी भनेर गुड्डी हाँकेर रनभुल्लमा पार्दै यात्रु आफ्नो गाडीमा कोच्ने प्रतिस्पर्धामा छन जुन नितान्त जघन्य अपराध हो ।

राजनीतिमा अपराधीकरण र अपराधीकरणको राजनीति दुवै स्वाभाविक मानिदै र देखिदै भोगिदै आएको इतिहास वर्तमान र भविष्य समेत छ । तसर्थ जसले जसो गरे पनि स्वाभाविक असामान्य,सामान्य मान्नुपर्ने अभिशप्त नियति नेपाली जनताको देखिन्छ । परिणाममुखि र बिनम्र शासक छान्न नसक्दाको दुख र पीडाले नेपाली जनतालाई पोलेको छैन । जनताले आफ्नो औकात अनुसारको शासक र पार्टी रोज्छन भन्ने भनाइ उसै बनेको होइन । जनताको ल्याकत अनुसारका नेता र पार्टी छनौट गरेको कारण कोरोनाको औषधि सुइ किन्न अर्थको अभाव भएको बेला असमयमा चुनाव घोषणा गरेर संसदलाई हाइज्याक गरेर खर्चिलो व्ययभार रोजाउछन प्रधानमन्त्री ।

नेकपा भित्रको बबण्डरमा नेताको दौराको फेर र साडीको सप्को छांद हाल्दै समाउदै हिड्ने कार्यकर्ताको स्थितिले पनि हामी नेपाली नेतालाई सुधार्ने विवेक राख्दैनौ भन्ने पुष्टी मिल्छ । जसको पछि जो लागेपनि उहाँहरु बीच तात्विक भिन्नता मर्यादा र विशिस्ट परिस्थिति छैन । असक्षमता मा दुवै खेमा समान तौल, आयतन र अवस्थितिमा छन् । नेताहरुको सनक, विवेकहीनता र कर्यक्षमताको अभाव देख्दा देख्दै पनि मेरो गुटको नेता भनेर आज्ञाकारी बालक र अनुशासित सिपाही झैँ पछि लाग्ने दास मनोवृतिले नेताको मति अझै फिर्दैन बरु गल्ति माथि गल्ति थप्दै जान्छन भन्ने उदाहरण हेर्न नेकपाका दुई धारका नेताहरुको सार्वजनिक बक्तव्यबाजी र आरोप हेर्दा पुग्छ । सैद्दान्तिक,नीतिगत र पद्दतिगत कुनै असहमति र भिन्नता छैन केवल भिन्नता स्वार्थको लागि छ । आरोप स्वार्थको लागि छ । व्यक्तिगत गालीगलौजको स्तर सुन्दा कुनै मदिरा प्रेमी सडकमा लर्खराउदै हिडेको इज्जतको ख्याल नगरेर बर्बराउदै हिंडेको जस्तो लाग्छ जुन प्रधानमन्त्री भै सकेका नेताहरुको लागि लज्जा र शिर झुकाउने विषय बन्नुपर्थ्यो विडम्बना बनेन ।

नेताहरुको यस्तो आचरण र बानी भएपछि लाखौ कार्यकर्ता र समर्थकमा कस्तो प्रभाव र असर पर्ला ? हिजो मात्रै अंगालो हालेर हिंडेका नेताहरु आज जुन अविश्वास,प्रतिशोध र बदलाको भावना देखिन्छ यस्तो देख्दा लाग्छ राजनीति केवल नाटक हो । राजनीतिमा विश्वास र भरोसाको मानक केही हुन्न । स्वार्थको लागि मिलन र स्वार्थको खातिर प्रतिशोध नै राजनीतिको मानक हो त ? नेताहरुको बेसुरका कुरा,अनावश्यक तर्क र अर्थहीन विचारमा ताली ठोकेर पछि लाग्ने कार्यकर्ता पनि अव्यवस्था र अराजकताका केही कारण र प्रमाण हुन् । प्रधानमन्त्री मन्त्री र नेताहरुको भाषण सुनेर बौद्दिक र प्राज्ञिकहरुलाई लाज लाग्नुपर्ने हो । दुनियाँ लजाई सक्यो तर यो वर्ग जो सत्ताको जुठो पुरोमा र्याल चुहाउछ ऊ सत्य र असत्यको परिभाषा यथार्थ र झुटको विवरण नेताको आवश्यकता र खाँचोको आधारमा पस्कन्छ । आफ्नो ओज गरिमा प्राप्त शिक्षा र राज्यप्रतिको निष्ठा अनि दायित्व भुलेर अवसरवादी निष्ठा र भक्तिमा आफूलाई उभ्याउछ तव विवेक नैतिकता इमान र निष्ठाको ठेक्का सर्वसाधारणले कतिन्जेल धान्न सक्छन ? तिनको बुताले कति समय रोक्न सक्छ ? बुद्दिजीवी वर्गले लत्तो छोडेपछि समाज भ्रस्टिकरण तर्फ उन्मुख हुन्छ । राज्यलाई खबरदारी गर्ने बौद्दिक सल्लाह दिने नीति निर्माणमा तटस्थ बस्ने बर्ग र समुदाय बिक्न थालेपछि राज्य पार्टीहरु जे हुनुपर्थ्यो अहिले त्यही भै रहेको छ । सिद्दान्तहीन सिद्धान्तले राज्य डोरिएको छ ।

नीतिहीनता र गतिहीनता नै राज्यको आम चरित्र बनेको छ । चारित्रिक सुद्दता कायम गर्न कठोर आचरण र ब्यबहार आवश्यक हुन्छ जुन देखाउने धैर्यता कम्तिमा पुराना पार्टी सत्ताको चास्नीमा डूबल्की मारेका नेता र तिनका हनुमान कार्यकर्तामा पाउन मुश्किल मात्र होइन कि दुर्लभ गुण र स्वभाव भैसक्यो । राजनतिक क्रान्ति र व्यवस्था परिवर्तन गर्न आफ्नो जवानी उर्जा र समय सकेका नेताहरुमा पसेको लोभ लालच र कहिल्यै नअघाउने अगस्ती स्वभाव देख्दा प्रश्न उठ्छ के यी तिनै नेताहरु हुन् जसले जेलनेल त्याग र तपस्या गरेर यो ब्यबस्था भित्र्याउन योगदान गरे ? जनताले स्थायीत्व र सुशासनको लागि दिएको मत च्यातेर पुन मतदानमा जान्छु भनेर संबैधानिक प्राबधानलाई चुनौती दिनु बुद्दिमानी हो या मुर्खता ? सुविधाजनक प्रचण्ड बहुमत थेग्न नसक्नेका लागि फेरि केको लागि चुनाव ? ओली सरकारका मन्त्री घनश्याम भुसालले भने झैँ घर झगडा भयो भन्दैमा गाउँ नै आगो लाउन मिल्ने हो र ? नेताहरुको वैचारिक भिन्नता नीतिगत अस्पष्टता पार्टीमा विवाद बैचारिक अन्तर संघर्स अनुपयुक्त हुदैन जीवन्त पार्टीमा दुई लाइन संघर्ष मार्क्सवादी लेनिनवादी सांगठानिक पद्दतिको स्वीकार्य मान्यता हो तर स्वार्थको लेनदेन व्यक्ति व्यक्ति बिचको अहंकारलाई सिद्धान्तको जलपले जति ढाक्न खोजे पनि मूल कुरा के हो ? छर्लंग छ ।

पार्टी विवाद र अन्तरसंघर्सको कारण देशलाई होम्न पाइन्छ र ? नीति बिधि पद्दति र सिद्धान्तको लडाई हो भनेर कसरि पत्याउने ? आज नेकपाका नेताहरु आ आफ्नो समुह ठूलो र महत्वपूर्ण बैधानिक र आधिकारिक देखाउन जुन जुन हर्कत र प्रयोजन परक क्रियाकलाप गर्दैछन त्यसलाई सामान्य मान्च्छेका आखाले पनि सजिलै भन्न सक्छ तपाईहरु हिजो मात्र होइन आज पनि नकाम गर्दै हुनुहुन्छ । अब नेकपाको दर्शन विचार र बिचार धारा जे भने पनि केवल सत्ता । सत्तामा जसरी नि पुग्ने,पुगेपछि नछोडने, आफूलाई राजामहाराजा झैँ जन्म सिद्ध प्राप्त अवसर सम्झने ? वैचारिक स्खलन । नीति र पद्धतिको स्खलन । समग्रमा झाँगिएको कम्युनिस्ट पार्टीको अवसान ।

प्रतिक्रिया दिनुहोस्