३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


गणतन्त्रको बाटो र विचारका कारण प्रतिनिधि सभा विघटन भयो : अध्यक्ष थापा


0
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले गणतन्त्रको बाटो र विचारले प्रतिनिधि सभा विघटन भएको बताउनुभएको छ ।

शुक्रबार राप्रपाले काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले प्रतिनिधि सभा विघटन हुनुमा वर्तमान सरकार, कुनै राजनीतिक दल तथा नेताहरुका मात्र नभई १४ वर्ष अघि शुरु गरिएको गणतन्त्रको बाटो र विचार नै दोषी भएको पनि बताउनुभएको हो । उहाँले गणतन्त्रको विकल्प खोज्दै राजादेखि विद्रोही विप्लवसम्म र कांग्रेसदेखि कम्युनिष्ट, मधेशवादी सबैको प्रतिनिधित्व हुने राजनीतिक प्रणाली आवश्यक रहेको बताउनुभयो ।

अध्यक्ष थापाले नेपालमा राजतन्त्रको पुनर्स्थापना र हिन्दु राष्ट्र कायम गर्नुपर्ने बताउनुभयो । नेपालमा गणतन्त्र, संघीयता तथा धर्म निरपेक्षताको पुनरावलोनक गर्दै राजतन्त्रको पुर्नस्थापना तथा देशलाई धार्मिक स्वतन्त्रतासहितको हिन्दुराष्ट्र कायम गरिनुपर्ने उहाँको तर्क छ ।

देश इतिहासकै सर्वाधिक कठिन र संकटपूर्ण घडीमा गुज्रेको भन्दै अध्यक्ष थापाले यस्तो बेलामा राजनीतिक दल र नेतृत्वहरुले जिम्मेवारीपूर्ण ढंगबाट काम गर्न नसके राष्ट्रिय स्वाभिमान, राष्ट्रिय एकता तथा राष्ट्रिय अखण्डता संकटमा पर्ने बताउनुभयो । नेताहरुले जिम्मेवारी निर्वाह गर्न नसके आगामी दिनमा परिस्थिति राजनीतिक दल र नेताहरूको नियन्त्रण बाहिर जानसक्ने प्रारम्भिक संकेत देखिइसकेको पनि अध्यक्ष थापाले बताउनुभयो ।

नयाँ नेपाल बनाउने नाममा हिन्दु राष्ट्रलाई समाप्त पारेको, राजतन्त्र पाखा लगाएको तथा संघीयताको नाममा जातजातिलाई विभाजन गरेपछि देश दिशाहीन भएको अध्यक्ष थापाले बताउनुभयो । देश अभिभावकविहीन बन्दा देशमा विदेशीको चलखेल बढेको र नेपालको स्वाभिमान तथा सार्वभौमिकतामाथि प्रहार भएको उहाँको तर्क छ । लोकतन्त्रको नाममा लुटतन्त्र मच्चिएको तथा केही राजनीतिक दल र नेताहरुले सर्वसत्तावादी शासन गर्न लागेको अध्यक्ष थापाले बताउनुभयो ।

राजसंस्था र हिन्दुराष्ट्र राप्रपाको मात्र एजेण्डा नभई आम नेपालीको एजेण्डा बनेकाले जनताको माग र चाहनालाई सम्बोधन नगरे देश द्धन्दमा जानसक्ने अध्यक्ष थापाले बताउनुभयो । राजतन्त्रवादी र लोकतान्त्रिक शक्तिको एकताले नै देशमा शान्ति र स्थायित्व कामय हुने भएकोले निषेधको राजनीति नगरी सबै अटाउने समावेशी, साझा व्यवस्थाको निर्माण गर्नुपर्नेमा उहाँको जोड छ । अध्यक्ष थापाले देश बचाउन, प्रजातन्त्र, राष्टियता बलियो बनाउन तथा आर्थिक समृद्धि ल्याउन राप्रपा सडकमा आएको बताउनुभयो ।