राजनीतिक शक्तिको आडमा बनाउँदा धेरै एयरपोर्ट सञ्चालनमा आउन सकेन : मन्त्री ढकाल « Image Khabar


राजनीतिक शक्तिको आडमा बनाउँदा धेरै एयरपोर्ट सञ्चालनमा आउन सकेन : मन्त्री ढकाल


Imagekhabar
१६ पुष २०७७, बिहीबार १८:१५

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले राजनीतिक पहुँच र शक्तिको आधारमा निर्माण गरिएकोले धेरै एयरपोर्ट सञ्चालनमा आउन नसकेको पनि बताउनुभएको छ ।

बिहीबार नेपाल नागरिक उड्डयन प्राधिकरणको २२ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा मन्त्री ढकालले देशभर ५५ वटा एयरपोर्ट रहेकोमा जम्मा ३५ वटा मात्र सञ्चालनमा रहेको बताउनुभयो । २० वटा एयरपोर्ट सञ्चालनमा आउन नसक्नुले राजनीतिक पहुँच र शक्तिको आधारमा एयरपोर्ट बनाइएको स्पष्ट हुने जिकिर गर्नुभयो । नेपालमा ३६ वटा एयरपोर्ट कालोपत्रे गरिएको छ ।

फरक प्रसङ्गमा मन्त्री ढकालले नेपालको अन्तर्राष्ट्रिय उडानलाई कालो सूचीमा राख्ने निर्णयको अन्तरवस्तु केलाउनुपर्ने बताउनुभयो । नेपालको योग्यता नपुगेका कारण हो अथवा कुनै पनि देशको स्वार्थका कारण कालो सूचीमा राखिएको हो भन्ने सम्बन्धमा अन्तरवस्तु केलाएर हेर्नुपर्ने उहाँको भनाइ छ ।

कसैले कालो सूचीमा राखेर आफ्ना स्वार्थ पुरा गर्नका लागि अतिरिक्त दवाव दिन खोजेको हो भने अन्तर्राष्ट्रिय समुदायलाई भन्न सक्नुपर्ने पनि मन्त्री ढकालको भनाइ छ ।

कार्यक्रममा प्राधिकरणका महानिर्देशक राजन पोखरेलले कोभिडका कारण नेपालको उड्डयन क्षेत्रमा अर्बौं रुपैयाँ नोक्सानी भएको बताउनुभयो । नेपाल वायुसेवा निगमले झण्डै ५ अर्ब, हिमालयन एयरलाइन्सले झण्डै २ अर्ब र आन्तरिक तर्फका हवाइ जहाज र हेलिकोप्टर अपरेटरहरूले करिब १० अर्ब ६२ करोड रुपैयाँ नोक्सानी व्यहोर्नुपरेको महानिर्देशक पोखरेलले बताउनुभयो । प्राधिकरणको आम्दानी पनि ८० प्रतिशत अर्थात ५ अर्ब ६९ करोड रुपैयाँ घटेको बताउनुभयो ।

प्राधिकरणका अनुसार कोभिड रोकथामका लागि लकडाउन भएपछि अहिले सम्मको अवधिमा अन्तर्राष्ट्रिय उडानमा ८६ प्रतिशत र आन्तरिक उडानमा ८३ प्रतिशत हवाइ यात्रु घटेको छ ।

प्रतिक्रिया दिनुहोस्