नेकपाको फुट जोगाउन नसकी फर्कियो चिनियाँ टोली « Image Khabar


नेकपाको फुट जोगाउन नसकी फर्कियो चिनियाँ टोली


दिपेन्द्र अधिकारी
१५ पुष २०७७, बुधबार १९:४२

दिपेन्द्र अधिकारी (इमेज)
काठमाडौं, पुस १५ । एकता प्रक्रिया निष्कर्षमा नपुग्दै विभाजनमा पुगेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको विभाजनलाई रोक्ने मिशनका साथ नेपाल आएको चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधि मण्डल चार दिनपछि निराश बनेर फर्किएको छ ।

आफ्नो मिशन सफल नभएपछि चिनियाँ टोली यहाँका अन्य राजनीतिक शक्तिसँग पनि सहकार्य गर्ने सन्देश दिएर फर्केको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव समेत रहेका राष्ट्रपति सी चिनफिङको सन्देश लिएर गत आइतबार काठमाडौं आएको चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौसहितको टोली चार दिनको भ्रमण पूरा गरी बुधबार फर्किएको छ ।

नेपालमा रहदा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा नेताहरु पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल र सभामुख अग्नि सापकोटालाई छुट्टाछुटै भेट्यो ।

राष्ट्रपतिदेखि नेकपा नेताहरुसम्मको भेटमा चिनियाँ टोलीको चासो नेकपालाई पुनः एक गर्नु कत्तिको संभव छ भन्ने थियो ।

बाहिरबाट हेर्दा चिनियाँ चासो नेकपाको विभाजन रोक्ने देखिए पनि भित्री रुपमा उनीहरुको चासो नेपालमा राजनीतिक स्थिरता र उनीहरुको लगानीको संरक्षणसंग जोडिएको बताउनुहुन्छ राजनीतिक तथा परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ ।

नेकपा नेताहरुको विवादले पटक पटक फुटतर्फ बढ्दा दौडधूप गरेर नेकपालाई एक राख्न सफल भएकी चिनियाँ राजदूत होउ यान्छी यस पटक भने असफल भएको र चीनबाट विशेष टोली नै आउनु परेको श्रेष्ठको ठहर छ ।

अर्का कूटनीतिज्ञ शम्भुराम सिम्खडा भने नेपालमा एउटा शक्तिसँग मात्रै सहकार्य गर्दा आफू अनुकुल वातावरण भएको अनुभूति गरेका चिनियाँहरु नेकपाको विभाजनपछि भने नेपालमा बहुशक्तिसँग सहकार्य गर्ने सन्देश दिएर गएको तर्क गर्नुहुन्छ ।

सिम्खडाले भने जस्तै चिनियाँ टोलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जसपाका नेता डा बाबुराम भट्टराईलाई समेत भेटेर नेपाल कम्युनष्टि पार्टी बाहेक अन्य शक्तिहरुसंग पनि सहकार्य गर्न चाहेको सन्देश दिन खोजेको विश्लेषण भईरहेको छ ।

नेपालको आन्तरिक मामिलामा चीनले अनावश्यक चासो बढाएको टिप्पणी भएपछि चिनियाँ विदेश मन्त्रालयले नै हस्तक्षेप गर्ने नियत नरहेको बताउनुले चीन नेपालको राजनीतिक अवस्था र यहाँका राजनीतिक शक्तिहरु कसैलाई पनि चिढ्याउन नचाहेको विश्लेषण भएको छ ।

भिडियो हेर्नुहोस्

भिडियो : राममान डंगोल

प्रतिक्रिया दिनुहोस्