बाग्लुङका भेडी व्यवसायीहरु कुकुरको पहरेदारीमा गोठहरु बेसीतिर झार्न व्यस्त « Image Khabar


बाग्लुङका भेडी व्यवसायीहरु कुकुरको पहरेदारीमा गोठहरु बेसीतिर झार्न व्यस्त


डम्बर बुढा मगर
१४ पुष २०७७, मंगलवार २०:५२

डम्बर बुढा मगर (बाग्लुङ)
बाग्लुङ, पुस १४ । बाग्लुङमा पनि चिसो बढेपछि भेडिगोठहरु धमाधम बेसीतिर झार्न थालिएको छ ।

व्यवसायीहरु कुकुरको पहरेदारीमा भेडी गोठहरु बेसीतिर झार्न व्यस्त छन् ।

बागलुङको बोङ्गादोभानबाट सोलेडाँडा तर्फ जाँदै गर्दा तमान गाउँ सुरु हुन्छ ।

बाटोभरी ढुंगा चढ्दै र चर्दै गरेका सेताम्मे भेडाका बथान देखिन्छन् ।

लामो बाटो भएकाले र चिसो भएकाले भेडा गोठालोहरुले ढुंगामाथि नुन चटाउँदै र चराउँदै भेडाहरु बेंसी झार्ने गर्दछन् ।

भेडा चराउँदै र जंगलमै बाँस बस्नु पर्ने बाध्यतामा छन् उनीहरु ।

चार सय भन्दा बढी भेडा रहेका यो बथानकम एउटै गोठाला छन् ।

तमानखोला गाउँपालिकाका भीमबहादुर रोकाले ४३ वर्षदेखि नै यसरी भेडासँग रमाउँदै आउनु भएको छ ।

रोकाको दिनचर्या बिहान उठेदेखि राति नसुतुन्जेलसम्म भेडाकै स्याहार सुसारमै बित्छ ।

दुःख सुखका कुरा बुझ्ने र सुन्ने पनि उनका साथी भनेकै भेडा हुन् ।

भेडीगोठ र भेडाको सुरक्षाका लागि उनले ५ वटा कुकुर पालेका छन् ।

यसरी नै भेडासँगै घुम्ती गोठ बनाएर घुम्नु उनको चार दशकदेखिको दैनिकी हो ।

भेडाको उनबाट बनाइएका कपडाहरु अहिले जाडोको लागि बिक्री हुने गरेको छ ।

रोकाले ऊनबाट बनाएको कम्लब, हापदुला, घुम, ज्याकेट लगायतका कपडाहरु देश विदेशमा बेच्ने गरेका छन् ।

त्यसैले परिवारको लालनपालन गर्दे आएका छन् ।

उनी जेठ महिना सुरु नहुँदै सपिङखगर, थालखर्क, चालुगे लगायतका उच्च पहाडी र हिमाली क्षेत्रमा भेडिगोठ सार्ने गर्छन् भने अहिले जाडोको सिजन भएकाले बागलुङ र म्याग्दीको सिमाना क्षेत्रमा गोठ झारेका छन् ।

केही समय अगाडीसम्म बागलुङको उच्च पहाडी क्षेत्रहरुमा मात्र भेडा गोठाले र भेडी गोठहरु भेटिन्थे ।

तर, पछिल्लो समयमा भेडी गोठहरु हराउँदै जान थालेका छन् ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्