
नवलपरासी, साउन ३१ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बुटवलले विद्यालय व्यवस्थापन समितिका एक अध्यक्षसहित चारजनालाई पक्राउ गरेको छ ।
शुक्रबार दुई छुट्टाछुट्टै विषयमा चारजनालाई घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको हो ।
पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकास्थित सिद्धार्थ माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केदार गिरीले आफ्नै विद्यालयका शिक्षकसँग ६५ हजार रुपैयाँ घुस रकम लिँदै गरेको अवस्थामा पक्राउ गरिएको हो ।
गिरीले विद्यालयमा कार्यरत् गणित विषयका एक शिक्षकको सरुवाको सहमतिपत्र र रमानापत्र बनाएवापत् घुस लिएको अख्तियार टोलीले जनाएको छ ।
गिरीको बयानका आधारमा विद्यालयका प्रधानाध्यापक लेखनाथ उपाध्यायलाईसमेत नियन्त्रणमा लिइएको छ ।
सेवाग्रहीसँग घुस
त्यसैगरी, नेपाल विद्युत् प्राधिकरण त्रिवेणी उपकेन्द्रका दुई कर्मचारी ४६ हजार ५५५ रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा उपकेन्द्रका चौथो तहमा कार्यरत् मेघराज काफ्ले र विद्युत् प्राविधिक नारायण कुर्मी रहेको अख्तियार कार्यालयले जनाएको छ ।
उनीहरुले ‘थ्री फेज’ लाइनको मिटर जडान गर्न सहजीकरण गर्ने भन्दै सेवाग्रहीसँग घुस लिएका थिए ।
प्रतिक्रिया दिनुहोस्