काठमाडौं, साउन ३१ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा मुख्य नेताहरुले नै विभागीय प्रमुखको जिम्मेवारी पाएका छन् ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले वरिष्ठ नेता माधवकुमार नेपाललाई विदेश, झलनाथ खनाललाई नीति, अध्ययन प्रतिष्ठान, वामदेव गौतमलाई संगठन विभाग प्रमुखको जिम्मेवारी तोकेको हो ।
लामो समयदेखि विवादित बनेको स्कुल विभागको प्रमुख ईश्वर पोखरेललाई बनाइएको छ ।
हाल पार्टीले अंगीकार गरेको सिद्धान्तविपरीत ‘जबज’को वकालत गरेको भन्दै पूर्वमाओवादी केन्द्रपक्षले स्कुल विभागमा पोखरेलको विकल्प खोज्दा लामो समयदेखि विभाग गठनले मूर्तरुप पाउन सकेको थिएन ।
अन्ततः पूर्वमाओवादी केन्द्रपक्ष पोखरेललाई नै स्कुल विभाग प्रमुख मान्न तयार भएको हो ।
प्रचार विभाग प्रमुख नारायणकाजी श्रेष्ठ र अर्थ तथा योजनामा सुरेन्द्र पाण्डे विभागीय प्रमुख बनेका छन् ।
शुक्रबार बसेको बैठकले ३३ ओटै विभागीय प्रमुखको टुंगो लगाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
बैठकले सातै प्रदेशमा दुई/दुईजना सहइन्चार्ज पनि थप गरेको छ ।
पार्टी एकीकरणको बाँकी विषयको जिम्मेवारी तोक्ने विषयमा छलफल गर्न नेकपा सचिवालय बैठक शनिबार अपराह्न फेरि बस्ने जनाइएको छ ।













प्रतिक्रिया दिनुहोस्