Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


शिशु तस्करी प्रकरणः यसरी भयो घटना पर्दाफास (भिडियो)


0
Shares

गृष्मा राजभण्डारी र दिलिप पोखरेल (इमेज)

काठमाडौं, साउन ३० । नवजात शिशुको नक्कली कागजात बनाइ विदेश लैजान खोज्ने बेलायती महिला डोना स्मिथ र मोटो रकम लिएर विदेशी नागरिकलाई शिशु बिक्री गर्ने नेपाल बाल संगठनका प्रमुख बालकृष्ण डंगोलमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

बालबालिका तस्करीमा ठूलै गिरोह सक्रिय रहेको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको हो ।

मानव बेचबिखन तथा ओसारपसारको आरोपमा पक्राउ परेका नेपाल बाल संगठन प्रमुख बालकृष्ण डंगोल र बेलायती महिला डोना स्मिथको बयान लिनेक्रम जारी छ ।

बुधबार महानगरीय प्रहरी परिसर काठमाडौंले पाँच दिनको म्याद थप गरी उनीहरुको बयान लिन थालेको हो ।

बेलायती महिला डोना स्मिथले आफैंले जन्माएको शिशु भन्दै हतार–हतारमा पासपोर्ट बनाएर भिसाका लागि अध्यागमन विभागमा पुगी स्मिथमाथि शंका लागेर सोधखोज गर्दा रहस्य पर्दाफास भएको अध्यागमन विभागका निर्देशक ज्ञानप्रसाद ढकालले जानकरी दिए ।

हामीलाई प्राप्त ‘सीसीटीभी फुटेज’मा बेलायती महिला साउन ११ गते कतार एअरवेजमार्फत् नेपाल आएको देखिन्छ ।

साउन ११ गते काठमाडौं उत्रिएकी महिला साउन १२ गते बिहान २ बजे आफूले शिशु जन्माएको भन्दै आफ्नो र शिशुको स्वास्थ्य जाँचका लागि भन्दै बीएन्डबी अस्पताल पुगेको देखिन्छ ।

डोनाले शिशुको नाम एनाबेला लक्ष्मी श्रेष्ठ स्मिथ राखेर बेलायती दूतावासबाट हतार–हतारमा शिशुको पासपोर्टसमेत बनाएको खुलेको छ ।

प्रहरी अनुसन्धानकाक्रममा पनि यी महिलाले आफूले नै शिशु जन्माएको र आफ्नो हुनेवाला श्रीमान् रामकुमार श्रेष्ठ भएको बताएकी थिइन् ।

तर, महिलालाई प्रसूतिगृहमा लगेर चेकजाँच गराउँदा उनी सुत्केरी नभएको पुष्टि भएको प्रहरीले जनाएको छ ।

प्रहरी नियन्त्रणमा रहेकी डोनाले बयानकाक्रममा नेपाल बाल संगठनका प्रमुख बालकृष्ण डंगोललाई शिशु दिलाइदिएवापत् चार लाख रुपैयाँ दिएको बताएकी छन् ।

एक छोराकी आमा डोनाले अर्को बच्चाको रहरले शिशु किन्न नेपाल आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।

बाल संगठनका प्रमुख डंगोलले ‘बर्थिङ सेन्टर’ तथा गर्भपतन गराउने अखडाहरुबाटसमेत नवजात शिशुहरुको तस्करी हुने गरेको बयान दिएको बुझिएको छ ।

भिडियो हेर्नुहोस्