१६ मंसिर २०८०, शनिबार | Sat Dec 2 2023


यस्तो बन्दैछ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, ५० प्रतिशत काम सकियो (भिडियो)


0
Shares

दीपक घिमिरे/ईमेज:

भैरहवा । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काममा तीव्रता देखिएको छ ।

शुरुको समयावधिभित्र काम नसकिएपनि यो पटक भने तोकिएको समयावधिभित्रै काम सम्पन्न हुने संकेत देखिएको छ ।

अहिलेसम्मको कामको प्रगति हेर्दा ५० प्रतिशत भन्दा बढी काम सम्पन्न भइसकेको  छ ।

२०१५ बाट सुरु भएको गौतमबुद्ध विमानस्थलको काम सन २०१७ भित्र पूरा गर्नुपर्ने थियो तर काममा खासै गति नभएपछि उक्त समयमा काम सम्पन्न हुन सकेन

दोस्रोपटक फेरि म्याद थप गरियो सन २०१९ को जुनसम्म काम सम्पन्न गर्नुपर्ने शर्तमा । पहिले काममा खासै सन्तोषजनक प्रगति नभएपनि यतिबेला भने काममा राम्रै प्रगति भइरहेको छ ।

गत असार महिनामा मुआब्जा वितरणको विषयमा विवाद आएपछि आन्दोलनका कारण २ दिन काम रोकिएको थियो नत्र अन्य बेला भने नियमित रुपमै काम भइरहेको छ ।

जसका कारण पनि समयमै काम सम्पन्न हुनेमा धेरै आशावादी देखिएका छन् ।

विमानस्थल स्तरोन्नति आयोजनाका प्रमुख ई ओम शर्माले हालसम्म ५० प्रतिशतभन्दा बढी काम पुरा भइसकेको बताउँछन् ।

आयोजनका अनुसार आगामी १५ दिनभित्र धावन मार्गको अन्य काम सम्पन्न हुने र त्यसपछि लगत्तै पिचको काम सुरु हुनेछ ।

त्यस्तै प्रशासकीय भवन कन्ट्रोल टावर अन्तर्राष्ट्रिय टर्मिनल भवनको निर्माण कार्य पनि अन्तिम चरमा पुगेको छ ।

विमानस्थलको जिम्मा लिएको चिनिया ठेकेदार कम्पनी नर्थ वेष्ट सिभिल एभिएसनले अहिले काममा तीव्रता दिएकोले समयभित्रै काम सम्पन्न हुने प्रमुख शर्माको भनाइ छ ।

कुल ६ अर्ब २२ करोड रुपैयाँ लागतको यस विमानस्थलमा एडिबीको ५४ करोड रुपैयाँ अनुदान रहेको छ ।

बाँकी चार अर्ब २० करोड रुपैयाँ ऋण सहयोग हो । अहिलेसम्म दुई अर्ब ६ करोड खर्च भइसकेको छ ।

अहिलेसम्मको कामअनुसार समयमै काम पुरा हुने देखिएपनि कामको गतिलाई  अहिलेकै अवस्थामा निरन्तरता दिन भने आवश्यक छ ।