
काठमाडौं, साउन २९ । नेपाली कांग्रेसका सांसद प्रदीप गिरिले भारतले सकेको दिन ‘नेपाललाई सिक्किम बनाइदिने’ चेतावनी दिएका छन् ।
प्रतिनिधिसभाअन्तर्गत्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बुधबार सिंहदरबारमा बसेको बैठकमा नेता गिरिले भारतले सकेका दिन नेपाललाई सिक्किम बनाइदिने चेतावनी दिएका हुन् ।
सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई इंगित गर्दै उनले नेपाल–भारत सिमानामा काँडेतार लगाउने र सुरूङयुद्ध गर्ने उद्घोष गर्ने नेताहरू नै अहिले सत्तामा रहेको र भारतका गतिविधिमा टाउको हल्लाउनेमात्रै काम गरेको बताए ।
विपक्षमा बस्दा कुनै दिन आफू सत्तामा पुग्दा गर्न नसक्ने कुरा सस्तो लोकप्रियताका लागि बोल्न नहुनेतर्फ उनले सचेत तुल्याए ।
नेपालको कमजोर कूटनीति जारी रहे सकेको दिन भारतले नेपाललाई सिक्किम बनाउने तथ्यपूर्ण यथार्थलाई समयमै आत्मसात् गर्न र सतर्क रहन गिरिले सबैको ध्यानाकर्षण गराए ।
‘विपक्षमा रहेर कहिले पनि त्यस्ता मागलाई उठाउनु हुँदैन, जुन सत्तापक्षमा गएर कार्यान्वयन गराउन नसकियोस् । कूटनीति भनेको चुनाव लड्न गर्ने भाषण होइन । सबैभन्दा ठूलो विफलता कूटनीतिक विफलता हो । हिन्दुस्तानले सकेदेखि नेपाललाई सिक्किम बनाउँछ । भुटान बनाउँछ । तथ्य हो यो,’ गिरिले भने ।
छलफलमा नेकपाका सांसद भीम रावलले नेपालको ठूलो भू–भाग भारतको अतिक्रमणमा परेको भन्दै समयमै कूटनीतिक पहल गर्न परराष्ट्र र गृह मन्त्रालयको ध्यानाकर्षण गराए ।
नेपालको ६०६ वर्गकिलोमिटर भू–भाग अतिक्रमणमा परेको, ७१ स्थानमा सीमा विवाद देखिएको, दशगजाका विभिन्न स्थानमा भारततर्फबाट अतिक्रमण गर्ने काम भइरहेको उनले दाबी गरे ।
नेपाल–भारत सीमा विवाद, अतिक्रमण तथा डुबानलगायत समस्याबारेको छलफलमा समिति सदस्यहरूले तत्काल कूटनीतिक पहल गरी डुबानलगायत समस्याको दीर्घकालीन समाधान खोज्न सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए ।
प्रतिक्रिया दिनुहोस्