Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


शिलान्यासकाे १४ महिना पछि सुरुङ खन्ने काम


0
Shares

काठमाडौं । काठमाडौंको नागढुंगादेखि धादिङको सिस्नेखोला जोडने सुरुङमार्गकाे निर्माण कार्य शुरु भएको छ । शिलान्यास भएको १४ महिना पछि सुरुङ खन्ने काम शुरु भएको हो ।

सन् २०२२ को अन्तिम सम्ममा निर्माण सम्पन्न गर्नुपर्ने सुरुङमार्ग कोरोना महामारीका कारण प्रभावित भएपछि ढिलो गरी शुरु भएको छ । मुआब्जा विवाद, विष्फोटक पदार्थको आयातमा भएको ढिलाइ र कोभिडका कारण निर्माण उपकरण आयातमा भएको ढिलाइका कारण १४ महिना ढिलो गरी निर्माण कार्य शुरु भएको सडक विभाग अन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजंग थापाले बताउनुभयो । जापान सरकारको १६ अर्ब ऋण सहयोग र नेपाल सरकारको करिब ६ अर्ब लगानी गरी झण्डै २२ अर्ब लगानीमा आयोजना बन्दैछ ।

आयोजना स्थलमा सुरुङ खन्नका लागि निर्माणस्थलसम्म पहुँचमार्ग, खोलामा कल्भर्ट बनाउने कार्य पूरा भइसकेको छ । तोकिएको समयभन्दा केही ढिलो गरी काम शुरु भए पनि समयमै निर्माण कार्य सम्पन्न हुने पनि थापाले बताउनुभयो । ड्रिलिङ एन्ड ब्लास्टिङ प्रविधिबाट सुरुङ खन्ने काम हुनेछ । आयोजनाका अनुसार सुरुङ मार्गको कुल लम्बाइ २ दशमलव ६८ किलोमिटर छ भने ३ दशमलव ५ मिटर चौडाइ रहेका दुई लेन हुनेछन् ।

यस्तै अत्यावश्यक रेस्क्युका लागि समेत छुट्टै एक्सिस रोड पनि निर्माण हुनेछ । सन् २०२२ को अन्त्य सम्म निर्माण सम्पन्न गर्नुपर्ने लक्ष्य भए पनि कोरोनाका कारण सुरुङ खन्ने कार्य नै ढिलाइ भएपछि सन २०२३ को मध्य सम्ममा निर्माण सम्पन्न हुने सम्भावना रहेको आयोजनाले जनाएको छ । जापानको हाज्मा एन्दो कर्पोरेसनले निर्माण कार्यको जिम्मा लिएको छ ।