
काठमाडौं । इंग्ल्यान्डको लर्ड्समा हुने त्रिकोणात्मक टी–ट्वेन्टी सिरिजका लागि बेलायतमा रहेको नेपाली क्रिकेट टोलीले आज(शनिबार) पहिलो अभ्यास खेल खेल्दैछ ।
नेपालले आज इंग्ल्यान्डको स्थानीय क्लब ह्याम्पशायर हग्ससँग पहिलो अभ्यास खेल खेल्ने छ । खेल नेपाली समय अनुसार साँझ करिब ५ बजेबाट सुरु हुनेछ ।
५० ओभरको खेल साउथह्याम्पटनस्थित व्हिली टाउन रोडमा हुनेछ । ह्याम्पशायर बेलायतको पुरानो क्रिकेट क्लब हो ।
सन् १८८७ मा स्थापना भएको यो क्रिकेट क्लबका ४ सयभन्दा बढी सदस्य रहेका छन् ।
यसले विभिन्न समयमा राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय टिमहरुसँग खेलिरहेको हुन्छ ।
खासगरी मेरिलिबोन क्रिकेट क्लब (एमसिसी), आई जिंगारी, फ्री फरेस्टर तथा अन्तर्रा्ष्ट्रिय भ्रमणमा रहेका विभिन्न टोलीसँग ह्याम्पशायर हग्सले मैत्रीपूर्ण खेल खेल्दै आएको छ ।
यस्तै नेपालले दोस्रो अभ्यास खेल जुलाई २३ मा सेन्ट क्रससँग टी–ट्वेन्टी खेल खेल्नेछ ।
यस्तै नेपालले जुलाई २५ मा इष्ट लन्डन ११ विरुद्ध ५० ओभरको खेल खेल्दा जुलाई २६ मा इष्ट लन्डन शार्कसँग टी–ट्वेन्टी खेल खेल्नेछ ।
चार अभ्यास खेलपछि नेपालले इंग्ल्यान्डको लड्र्समा जुलाई अन्तिम साता हुने त्रिकोणात्मक टी–ट्वेन्टी सिरिज खेल्ने छ ।
नेपाल, नेदरल्याण्ड्स र मेरिलिबोन क्रिकेट क्लब (एमसिसी) बीच लड्र्समा हुने त्रिकोणात्मक सिरिज जुलाई २९ मा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्