८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


डा.केसीको अनशन जारी, उपचार गर्न अस्वीकार


0
Shares

काठमाडौं । डाक्टर गोविन्द केसीले २२ औं दिन पनि आफ्नो अनशन अनसन जारी राखेका छनु भने उपचार गर्नै पनि अस्वीकार गरेका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट सरकारी टोलीले विहीवार २० दिनपछि डाक्टर केसीलाई काठमाडौं ल्याएको थियो ।

काठमाडौंको शिक्षण अस्पतालमा उनी निरन्तर अनशनमा छन् । आफुलाई इच्छाविपरित बल प्रयोग गरी सरकारले काठमाडौं ल्याएको भन्दै थप उपचार नगर्ने अडान डाक्टर केसीले लिएका छन् । चिकित्सकहरु भने उनलाई आईसीयूमा राखेर उपचार गर्नुपर्ने बताउँछन् ।

यसैबीच, अनशनरत डा. केसीलाई विभिन्न व्यक्तिले भेटेर आन्दोलन र उनका मागप्रति ऐक्यवद्धता जनाइरहेका छन् ।

यसक्रममा डा. केसीलाई भेट्न त्रिवि शिक्षण अस्पताल पुगेका पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डा. केसी कसैले उचालेर अनशन नबसेको जिकिर गरे ।

यता, नेपाल बार एशोशिएशनले पनि डा. केसीको माग तत्कालै सम्बोधन गरी उनको जीवन रक्षा गर्न सरकारसँग आग्रह गरेको छ ।

बारका महासचिव खम्मबहादुर खातीले विज्ञप्ति निकाली नागरिकको जीउधनको सुरक्षा, स्वतन्त्रता तथा मानवाधिकार रक्षाप्रति सरकार र सम्बन्धित पक्षलाई पूर्ण उत्तरदायीपूर्ण र जिम्मेवार बन्न आग्रह गरेका हुन् ।

यसैबीच, एम्नेष्टी इन्टरनेशनल नेपालले पनि एक विज्ञप्ति निकाली डा. केसीलाई जुम्लाबाट काठमाडौं ल्याउने क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र गरिएको बल प्रयोगप्रति चिन्ता ब्यक्त गरेको छ ।

घटनामा भएको सत्य तथ्य बाहिर ल्याउन आग्रह गर्दै उसले डा. केसीको जीवन जोगाउन र विपक्षका आवाज सुन्ने वातावरण बनाउन पनि आग्रह गरेको छ ।

यसअघि विहीवारै राष्ट्रिय मानवअधिकार आयोगले पनि जुम्लामा सरकारले अत्यधिक बल प्रयोग गरेर अस्पतालभित्रै हस्तक्षेप गरेकामा आपत्ति जनाएको थियो ।