सार्वजनिक लेखा समितिले बोलायो स्वास्थ्यमन्त्री ढकाललाई « Image Khabar


सार्वजनिक लेखा समितिले बोलायो स्वास्थ्यमन्त्री ढकाललाई


Imagekhabar
३ पुष २०७७, शुक्रबार ०८:४७

काठमाडौं, पुस ३ । कोरोना महामारीका बीच स्वास्थ्य सामाग्री खरिदमा अनियमितता गरेको विषयमा छलफल गर्न प्रतिनिधिसभाको सार्वजिक लेखा समितिले स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई बोलाएको छ ।

सरकारले कमिशनको चक्करमा बजार मूल्य भन्दा २० प्रतिशत महंगोमा स्वास्थ्य सामग्री खरिद गर्न ओम्नी समूहसँग खरिद सम्झौता गरेको आरोप छ ।

कोरोना रोकथामका लागि सरकारले खरिद गरेका विभिन्न स्वास्थ्य सामग्रीमा अनियमितता भएको भन्दै समितिले छलफलका लागि विभागिय मन्त्रीलाई बोलाएको हो ।

यसअघि पटक–पटक बोलाउँदा समय नदिएका मन्त्री ढकाल छलफलमा सहभागी हुन सहमत भएपछि शुक्रबार दिउँसो १ बजेका लागि समितिको बैठक बोलाइएको छ ।

सरकारले गत वर्ष चैतमा चीनबाट स्वास्थ्य सामग्री खरिद गर्ने जिम्मा ओम्नी समूहलाई दिएको थियो ।

कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री खरिद गर्दा भ्रष्टाचार भएको समाचार सार्वजनिक भएसँगै सरकारले ओम्नी समूहसँगको खरिद सम्झौता रद्द गरेको थियो ।

यसपछि नागरिकको प्रत्यक्ष जीवनसँग जोडिएको विषयमा सरकारले लापरवाही गरेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विरोध गरेको थियो ।

महामारीको बेलामा सरकारले आम नागरिकलाई सहुलियत दिनुको सट्टा आर्थिक प्रलोभनमा परेको भन्दै जनस्तरबाट पनि विरोध भएपछि समितिले गत वैशाख १४ गते छानविन थालेको थियो ।

समितिले कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि आवश्यक स्वास्थ्य सामग्री खरिदका क्रममा मन्त्रालयले तयार पारेका कागजपत्र र त्यसबारे भएका कामको बारमा पनि छानविन गरिरहेको छ ।

यसअघि समितिले मन्त्रालयका तत्कालीन सचिव, स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक र विज्ञहरुसँग छलफल गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्