Logo १६ पुस २०८२, बुधबार | Wed Dec 31 2025


शिक्षा क्षेत्रमा हुने राजनीति रोक्नुपर्छ: मन्त्री श्रेष्ठ


0
Shares

सिरहा । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री लीलानाथ श्रेष्ठले शिक्षा क्षेत्रमा हुने राजनीति रोक्नुपर्ने बताउनुभएको छ ।

सिरहाको गोलबजार नगरपालिका–८ चोहर्वास्थित जनता प्राविधिक नमूना माध्यमिक विद्यालयमा सूचना, सञ्चार तथा प्रविधि प्रयोगशालाको उद्घाटन गर्नुहुँदै उहाँले बढ्दो राजनीतिकरणका कारण मु्लुकको शैक्षिक अवस्था कमजोर बनेकाले शिक्षा क्षेत्रमा हुने राजनीति रोक्नुपर्ने बताउनुभएको हो ।

“विद्यालय व्यवस्थापन समितिको गठनदेखि शिक्षक सरुवाको विषयमा समेत राजनीति हुने गरेको छ”, मन्त्री श्रेष्ठले भन्नुभयो, “त्यसकारण शैक्षिक गुणस्तर बढ्नुको साटो झन्झन् खस्किँदै गएको छ, त्यसैले विद्यालयमा हुने राजनीति रोक्नुपर्छ ।”

समग्र विकासको मेरुदण्डका रूपमा रहेको शिक्षा क्षेत्रको राजनीतिलाई रोक्न सबै पक्ष गम्भीर बन्न जरुरी छ, उहाँले भन्नुभयो ।

मन्त्री श्रेष्ठले भौतिक पूर्वाधार निर्माणसँगै शैक्षिक गुणस्तरमा पनि सुधार ल्याउनुपर्ने बताउनुहुँदै विद्यालयलाई भौतिकरूपमा मात्र नभई शैक्षिक गुणस्तरीयताको रूपमा समेत नमूना बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले महिला हिंसाको अन्त्य, बालबालिकाको सुरक्षित भविष्य र ज्येष्ठ नागरिकको सम्मानित जीवनयापनका लागि निकट भविष्यमै आफ्नो मन्त्रालयले ठोस योजना ल्याउने जानकारी दिनुभयो ।

गोलबजार नगरपालिकाका प्रमुख देवनाथ साहले जिल्लाको नमूना विद्यालयको रूपमा पहिचान पाएको यस विद्यालयमा प्रयोगशाला निर्माणसँगै शैक्षिक गुणस्तरीयता बढ्ने विश्वास व्यक्त गर्नुभयो ।