Logo ११ असार २०८३, बिहिबार | Fri Jun 26 2026


विदेशमा तलब नपाई फर्किन्छन् नेपाली श्रमिक


0
Shares

काठमाडौं । सिरहाका चतुरनारायण मण्डलले १८ महिनाको तलब लिन लपाई अक्टोबरको पहिलो साता कतार छाडे ।

उनी १३ वर्षदेखि इम्पेरियल ट्रेडिङ एण्ड कन्स्ट्रक्टिङ कम्पनीमा काम गर्थे । पहिले कम्पनी राम्रै थियो । व्यवस्थापन परिवर्तन भएपछि अवस्था बिग्रियो ।

‘हामीले श्रम मात्रै पोख्नुपर्या’, उनले भने, ‘कतारमा विना तलब बस्नै सकिएन । घरमा पैसो पठाउन नसक्ने भएपछि तनावमा बसेर के अर्थ ?’

उनीलगायत श्रमिकहरुले गत वर्षको जुलाइदेखि तलब माग गर्दै आन्दोलन गर्नुपरेको थियो । उनले १८ महिनाको १८ हजार रियाल ( ५ लाख ९४ हजार रुपैयाँ) छोडेर आउनुपर्यो ।

आफूजस्ता श्रमिकलाई तलब नदिँदा कम्पनीलाई ३ लाख ५७ हजार डलर फाइदा पुगेको उनी बताउँछन् । ‘कतिपय साथीहरु तलब पाइने आसमा अझै सनैया क्याम्पमै बसिरहेका छन्’, उनले भने ।

गन्तव्य देशमा मण्डलले जसरी तलब छाडेर आउने श्रमिकको संख्या निकै छ । यो वर्ष कोरोना महामारीले झन बढाइदिएको छ ।

‘तलब नदिन कम्पनीलाई कोरोना बहाना भइदियो’, साउदीमा कार्यरत सप्तरीका वीरेन्द्र शासले भने, ‘कम्पनीले टिकट मात्रै दिँदा पनि हामीले राहत मान्नुपर्ने अवस्था सिर्जना भयो ।’

खाडी तथा मलेसियास्थित नेपाली दूतावासहरुमा दैनिकजसो करिब २ सय जना तलब नपाएको भन्दै उजुरी लिएर जाने गरेका छन् ।

दूतावासले कम्पनी र श्रमिकसँग समन्वय गरे पनि श्रमिकले पसिनाको मूल्य पाउन कठिन छ । कान्तिपुर