काठमाडौं, साउन २५ । काठमाडौंको पुतलीसडकबाट नेत्रविक्रम चन्द समूहको नेपाल जनसांस्कृतिक महासंघका महासचिव खेम थपलियालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
उनलाई आफ्नै कोठाबाट शनिबार अपराह्न पक्राउ गरी थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा राखिएको प्रवक्ता प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।
चन्द समूहलाई विध्वंशकारी क्रियाकलापमा संलग्न रहेको भन्दै सरकारले गत फागुनदेखि उसका गतिविधिमा रोक लगाएको थियो ।
पछिल्लो समयमा चन्द समूहका उच्च नेतासहित झन्डै ६०० लाई प्रहरीले पक्राउ गरिसकेको छ भने कतिपय नेताहरुले समूह परित्यागको घोषणा गरेका छन् ।
यसैबीच, प्रगतिशील लेखक संघले शनिबार एक विज्ञप्ति जारी गरी पक्राउ गरेको घटनाको भर्त्सना गरेको छ ।
जारी विज्ञप्तिमा वार्ता र संवादको माध्यामबाट राजनीतिकरूपमा समस्याको समाधान गर्नसमेत माग गरिएको छ । रासस









प्रतिक्रिया दिनुहोस्