Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


धर्म–संस्कृतिमाथि बाह्य दबाब रोक्न आन्दोलन गर्ने साना ८ दलको चेतावनी


0
Shares

काठमाडौं, साउन २५ । विभिन्न साना राजनीतिक दलहरुले मुलुकको धर्म र संस्कृतिमाथि बाह्य दबाब रोक्न आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

शनिबार काठमाडौंमा अन्तरक्रिया कार्यक्रम गरी साना ८ राजनीतिक दलहरुले मुलुकको धर्म र संस्कृतिको संरक्षणका लागि सरकारलाई दबाब दिन सुरु गरिएको संयुक्त आन्दोलनलाई सशक्त बनाउने निर्णय गरेका हुन् ।

आन्दोलनको औचित्यबारे अन्तरक्रिया गर्दै ‘संयुक्त राष्ट्रिय आन्दोलन’ गरेका वाम–प्रजातान्त्रिक दुवै धारको राजनीति गर्ने ८ साना राजनीतिक दलहरूले धर्म र संस्कृतिमाथि बाह्य दबाब रोक्न आन्दोलनलाई सशक्त बनाउने निर्णय गरेका हुन् ।

मुलुकमा नेपालीको पहिचान मेटिने गरी हुन थालेको बाह्य हस्तक्षेपलाई रोक्न सरकारसँग माग गर्दै संयुक्त राष्ट्रिय आन्दोलनको कार्यक्रम घोषणा गरेको उनीहरुको भनाइ छ ।

‘संयुक्त राष्ट्रिय आन्दोलन’ नाम दिइएको सो समूहमा सीपी मैनाली नेतृत्वको नेकपा माले, हरिबोल भट्टराई नेतृत्वको नेपाली कांग्रेस (बीपी), देवीप्रसाद ओझा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक मञ्चलगायतका  राजनीतिक दलहरू आबद्ध छन् ।

देशलाई आन्तरिक तथा बाह्य हस्तक्षेप हुन नदिन सरकारलाई दबाब दिन पनि आफूहरूले संयुक्त आन्दोलन सुरु गरेको नेकपा मालेका महासचिव मैनालीले बताए ।

सो समूहले बाढी, पहिरो र डुबानबाट पीडितलाई राहत र पुनःस्थापना गर्न सरकार गम्भीर नभएको भन्दै सरकारको ध्यानाकर्षण पनि गराएको छ ।