संवैधानिक परिषदको बैठक ५ बजे बस्दै « Image Khabar


संवैधानिक परिषदको बैठक ५ बजे बस्दै


Imagekhabar
३० मंसिर २०७७, मंगलवार १२:१०

काठमाडौं, मंसिर ३० । सभामुख अग्नि सापकोटा अनुपस्थित भएपछि आज पनि संवैधानिक परिषदको बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न संवैधानिक आयोगहरुमा रिक्त रहेका पदाधिकारी नियुक्तिका लागि बोलाएको बैठक एक साताभित्र दुई पटक स्थगित भएको हो ।

गत आइतबार बोलाइएको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नि सापकाटा अनुपस्थित भएपछि छलफल हुन सकेको थिएन ।

त्यसपछि आजका लागि बोलाइएको बैठकमा पनि सभामुख सापकोटा अनुपस्थित भएपछि गणपुरक संख्या नपुगेर परिषदको बैठक दोस्रो पटक स्थगित भएको हो ।

सभामुख सापकोटा अनुपस्थित भएपछि आजै बेलुका ५ बजेका लागि बैठक बोलाइएको छ ।

नेपालको संविधानको धार २८४ मा संविधानबमोजिम प्रधानन्यायाधीश र संवैधानिक निकायका प्रमुख र पदाधिकारी नियुक्तिको सिफारिस गर्न प्रधानमन्त्री अध्यक्ष रहेन परिषदमा प्रमुख प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, विपक्ष्ँी दलका नेता र प्रतिनिधिसभाका उपसभामुख सदस्य रहने व्यवस्था छ ।

यता सभामुख सापकोटाले तयाारी नपुगेको भन्दै बैठकमा अनुपस्थित भएको बताउनुभएको छ ।

नेकपाको जारी पछिल्लो विवादका कारण परिषदको बैठक दुई पटक स्थगित भएको हो ।

पार्टीको बैठक चलिरहेका बेलामा संवैधानिक परिषदको बैठक बोलाइएको भन्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहालले असन्तुष्टि जनाउनुभएको छ ।

स्थायी कमिटीको बैठक चलिरहेका बेलामा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीले सहमतिको वातावरण बनाउनुको सट्टा थप विवाद चर्काउन लागेको भन्दै दाहालले असन्तुष्टि जनाउनुभएको हो विगतमा भएका सहमति र समझदारीलाई लत्याउँदै प्रधानमन्त्री ओलीले प्रमुख विपक्षीसँग सहमति गरेर अघि बढ्न खोजेको समेत दाहालको भनाइ छ ।

यस्तै काँग्रेस नेताहरुले पनि उपसभामुखको निर्वाचन नभएसम्म परिषद बैठकमा सहभागी नहुन सभापति शेरबहादुर देउवालाई सुझाव दिँदै आएका छन् ।

उपसभामुख काँग्रेसको भागमा रहेकाले सरकार र सभामुखले उपसभामुख चयनमा चासो नदेखाएको भन्दै काँग्रेसले असन्तुष्टि जनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्