विवेकशील साझाको रियुनियनः जनताको मन खुट्न सक्लान् ? « Image Khabar


विवेकशील साझाको रियुनियनः जनताको मन खुट्न सक्लान् ?


Imagekhabar
२९ मंसिर २०७७, सोमबार १२:१७

article sanjib karki

सञ्जीव कार्की ।

भनिन्छ लड्नु आपद र अप्ठ्यारो होइन । खासै लाजको विषय पनि बन्दैन घोडा चढ्ने मान्छे लड्छ यदाकदा । बरु लडेर उठ्न नसक्नु र नचाहनु चै आपद हो, अप्ठ्यारो हो, लाजको पसारो हो, हार स्वीकार गर्नु हो । कतिपय नियम र अभ्यासका कारण हार स्वीकार गरेर जानु बान्छनीय हुन्छ भने कतिपय हारलाई स्विकार नगरेर नै जित्नुपर्ने हुन्छ । विवेकशील साझाको पुनर्मिलनलाई धुलो टकटक्याएर उठ्ने प्रयासको प्रारम्भिक चरणको रुपमा बुझ्न सकिन्छ ।

सबै बिछोड बिरह र बिग्रह अप्रिय मात्र हुन्न प्रिय पनि बन्न सक्छ तर यो अपवाद मात्रै हो । नमिलेर संधै गलफत्ती गरेर बस्नु भन्दा आआफ्नो बाटो तय गरेर रुपान्तरण, सुधार र सुध्रिनु श्रेयस्कर हुन्छ । नेकपाको जस्तो एकता फुटन नसकेर मिल्नु पर्ने बाध्यता, नमिलेर पनि फुट्न नसक्ने अप्ठ्यारो नैतिक र राजनीतिक पासो भन्दा नमिलेकै जाति हो । विवेकशील साझाको मिलन बिन्दु आ आफ्ना कमजोरीको स्वीकारोक्ति सहित उदार छाती बनाएर एकीकरणको अभ्यासमा जान्छ कि ? एक अर्कालाई विलय बनेको मनोदशामा देखिन्छ त्यो समयले लिने परिक्षामा परिक्षण होला नै ।

यद्यपि आशंका र प्रश्नको चौघेराभित्र नपर्ने छूट छैन सम्बन्ध बिच्छेद गरेर पुन सम्बन्धमा गासिएका दुई दललाई ? सम्बन्ध विच्छेदको यथोचित कारण र दुराशय आशयको प्रस्टता बिना गाँसिने सम्बन्ध र मेलकोदीगोपन बारे गम्भीर हुनु जरुरी छ । फुट्नुमा प्रायश्चित गरेर जुट्नुमा गर्वबोध गर्दै भावनात्मक एकता र सैद्धान्तिक ब्यबहारिक अन्तरघुलन मार्फत नेताकार्यकर्ता बिचको उता र यताको भन्ने विभाजित मानसिकताको सीमालाई मेट्न निकै कसरत आवश्यक देखिन्छ ।

नेपाली कांग्रेस र रास्ट्रिय कांग्रेस, प्रजा परिषद अनि गोर्खा दल भनेर कांग्रेसमा विभाजनको रेखा पछिसम्म रहेको राजनीतिक इतिहासकारको दावी छ भने नेकपा एमाले भित्र तत्कालिन माले र मार्क्सवादीको सिमा र परिधिले असर पारेको र पछि नेकपा एमाले पुन विभाजनमा जाँदा माले र एमाले भन्ने तुष कति डरलाग्दो रुपमा देखिएको थियो । नेकपा माओवादीमा पनि नेकपा मसालबाट पछि मिसिएको समूह र जनयुद्ध गरेर आएका बिचको भेद देखिने गरी थियो । आज नेकपामा भएको विवादमा पनि पूर्व माओवादी केन्द्र र पूर्व नेकपा भनेर पनि देखिन्छ । पार्टी एकीकरण पछि कतिपय सम्बन्धहरु यस्तै यस्तै देखिदै आएको छ ।

हाम्रो सामाजिक मनोवैज्ञानिक प्रभाव आदिवासी र आप्रवासी नेता कार्यकताको रुपमा बुझिन्छ बुझाइने गरिन्छ । सम्बन्ध ब्रेक गर्नुको कारण क्षणिक आवेग, लघुताभास या सैद्दान्तिक नीतिगत भिन्नता थियो त्यो प्रस्टता दुई समूहबीच मात्रै भएर पुग्दैन आम मान्छेलाई बुझाउनु पर्छ अन्यथा स्वार्थको मेल भन्दा भिन्न अर्थमा साझा विवेकशीलको निर्णयलाई लिन सकिन्न र नयाँ मान्छेलाई पार्टीमा आकर्षण गर्ने अवस्था सिर्जना हुदैन । सबाल पार्टी ठूलो, आगामी चुनावमा उलेख्य परिणाम ल्याउन लायक बनाउने कि सुव्यवस्थित र दीर्घकालीन लक्ष्य हाँसिल गरेर देशको नेतृत्व लामो समय हाक्न सक्षम पार्टी बनाउने पनि हो ?

पार्टीलाई चुनाबी जित चाहिएको हो भने जो जस्ता नेताकार्यकर्ता पनि पार्टी प्रवेश गर्न सक्छन र अरु पार्टीमा झैँ भाँडभैलो विकृति विसंगति आदिको छेलोखेलो हुनेछ । चुनावी नतिजाको लागि कांग्रेस माओवादी र माओवादी नेकपा एमालेको गठजोडले ल्याएको परिणति हेर्दा । गठबन्धन र एकताका नाममा जे गरिए जुन पद्धति र विधि भनेर व्यक्ति केन्द्रित अवधारणा ल्याइयो त्यसले पार्टी र देशलाई कसरी ड्राइभ गरेको छ भन्ने उदाहरणको हामी भुक्तभोगी छौ ।

नेताको स्वार्थ र अवस्था हेरेर पार्टी एकीकरण गर्दा त्यसले उत्पन्न गराएको विकराल स्थिति र नयोग नवियोगको अवस्था पक्कै पनि टीठलाग्दो छ । स्वाभिमान गिरेका र केवल दास जस्ता कार्यकर्ता नेकपाले तयार गरेको छ । पार्टीमा एकीकरण पछी नीति विधि सिद्धान्त र विचारको प्रतिष्पर्धा हुँदैन केवल प्रतिस्पर्धा देखिन्छ धुप बाल्ने, आरती उतार्ने, भजन गाउने र विपरित खेमालाई सत्तोसराप गर्नेदेखि विविध काण्डमा आरोपित गर्न आफ्नो बुताले भ्याउने जति षड्यन्त्र रच्ने । आ–आफ्नो पक्षका नेताको पृष्ठपोषण गर्ने ।

यी सब हुनुको कारण हो नेकपा एकीकरणलाई व्यक्तिको अभिष्ट पूरा गर्ने साधनको रुपमा प्रयोग गर्ने व्यक्तिवादी सोच र शैलीले प्रश्रय पाएकोले आज नेकपा बेहालमा छ । पार्टीमा दण्डहीनता, अराजकता, अनैतिक र अनुशासनहीन जमात बटुल्न धेरै समय लाग्दैन । खहरेरुपी भेल उत्पन्न हुन्छ । मनि मसल्स र मोटरसाइकलको प्रदर्शनले पनि प्रभाव पर्नेछ । नेपाली राजनीतिलाई अब परम्परागत सोच शैली र आचरण भएको दल होइन नवीन संस्कार शैली पद्धति र विधिलाई अनुसरण गर्ने सिद्धान्त होइन दृष्टान्त देखाउने दल नेता र राजनीतिकर्मीको अभाव छ । यो को सट्टामा त्यो आएर तात्विक फरक पर्दैन तर अनुहार होइन चरित्र सफा हुने ब्यवहार शुद्ध हुने आचरणमा आदर्शवान र जनताको दुःखसुखमा निष्ठावान नेता र सेवक दल चाहिएको हो ।

आफू नष्ट हुने तर भ्रष्ट नहुने उक्ति जति सुन्दा मोहक लाग्ने छ त्यति नै हाम्रो जस्तो बिग्रिएको राजनीतिक संस्कार र संस्कृतिमा जोगिएर बस्न मुश्किल छ । बिग्रिए आफू मात्रै बिग्रने सप्रिए देश बनाउने सपना र अठोटको पछि पनि आशाको उज्यालो छ तथापि यो उज्यालोको पर्दा उघार्न थुप्रै पापड बेल्नुपर्ने हुन्छ । नेता जोगीए पनि कार्यकर्तालाई विकृत बन्नबाट जोगाउनु नै ठूलो च्यालेन्ज देखिन्छ । स्वतस्फुर्त कुनै पनि कार्य नगर्ने समाजसेवामा समेत ज्याला र लाभ लिने चलन स्थापित भएको मुलुकमा सुव्यवस्था पालन गर्न आचरण र नैतिकता सिद्धान्तलाई सँगै लिएर हिडन कठिन छ ।

मासु र रक्सी मोटरसाइकलमा हालिने तेल, हा हा, हु हु, हाट हुटमा मत दिने, भोज भतेर र लुगा पैसा बाँड्ने र उडन्ते विकास दिने सपनाको खेती गर्ने राजनैतिक कर्मको अभ्यास भएको थलोमा भिन्न र शालीन यथार्थ बोध गरेर धरातलीय यथार्थलाई मात्रै आत्मासात गरेर हिडछौं, देखाउँछौं भन्नु भीमकाय पहाड चढनु जत्तिकै दुरुह छ । यद्यपि, यो फरक बाटो हिंडेर देशलाई सु–संस्कृत राजनीतिको राजमार्ग निर्माण गर्ने अभिभारा कसै न कसैले लिनु पर्ने नै छ । विवेकशील साझा पार्टीको नव निर्माणले राजनीतिमा ब्याप्त निराशा, भ्रष्टाचार, कुशासन राज्यहीनतालाई चिरेर नेपाली नागरिकको भाँचिएको सपना र छिन्नभिन्न हुँदै गरेको आशाको त्यान्द्रोलाई पुनर्जीवन र पुनजागृत गर्दै राजनीतिमा नयाँ तरंग भर्नेछ या निराशाको बादलले छोप्नेछ भन्ने कुरा आगामी केही वर्षभित्र अर्को स्थानीय निकाय र संघीय अनि प्रादेशिक चुनाबमा देखिनेछ ।

नेपाली राजनीतिमा पटकपटक परीक्षित नेता र पार्टीभन्दा नयाँ र परीक्षण नभएका पार्टी र तिनका नेताहरुको लागि अवसर पनि छ तर अवसर पाउन विश्वास आर्जन गर्नु जरुरी छ । विवेकशील साझा दलले एकीकरणपछि फूट रोजेर आफ्नो विश्वसनीयतामा शंका र आशंका गर्ने ठाउँ छोडे यो ऐतिहासिक र गम्भीर राजनीतिक दुर्घटना हो । यसको जबाफ हर किल्ला र प्रसंगमा यसका नेताकार्यकर्ताले नित्य सामना गर्नुपर्छ । उत्तर व्यवहारमा दिँदै जानुपर्छ । अब हामी यस्तो प्रकारको अल्लारे गल्ती र कमी कमजोरी गर्ने छैनौ भनेर ।

कांग्रेस कम्युनिस्ट पार्टीहरुले एउटा कालखण्डमा थुप्रै योगदान दिए, परिवर्तन र स्वतन्त्रा आर्जन गर्न जीवन बलिदान गरे, अंगभंग भए घरवारविहीन बने, प्रवास बसे, जेलनेल यातना भोगे, त्यो उच्च मुल्यांकन गर्ने विषय हो । व्यवस्था परिवर्तन गर्न जुन योगदान र उर्जा खर्च गरे तर व्यवस्था परिवर्तन पछि शासकीय क्षमता प्रदर्शन गर्न सकेनन् । असफल बनि रहे । तसर्थ कहिल्यै शासकीय क्षमता प्रदर्शन गर्ने ठाउँमा नपुगेका र हिजो अर्को पार्टीमा रहँदा देशको नेतृत्वमा पुगेको नेताको जमातले गठन गरेको पार्टी नभएको हुनाले पनि नयाँ पार्टी र तिनका नेतालाई असफल छन् यिनले देश चलाउन सक्दैनन् भन्ने निस्कर्ष निकाल्न सकिँदैन । यसर्थ पनि नयाँ पार्टी र तिनका नेताको लागि राजनीति गर्न राजनीतिक वृक्ष हुर्काउन प्रशस्त जमिन र समय छ ।

देश बर्बाद हुने गरी रवीन्द्र मिश्र र मिलन पाण्डेहरुले विराम गरेका छैनन् । बरु नेपाल बन्द होइन, खुला छ, खुल्ला गर्नुपर्छ भनेर बन्द गर्नेको प्रतिकार रचनात्मक शैलीमा गरेर उदाहरण पेश गरेका छन् । अयोग्यता कतै प्रदर्शन गरेका छैनन्, सकेको योग्यता देखाएका छन । प्रायः सबै नेताकार्यकर्ता राजनीतिलाई पेशा र अवसर बनाएर हिंडेका छैनन् बरु आफ्नो व्यवसाय, उद्यम, सीप क्षमता र दक्षता देखाएर आम्दानीसहित राजनीतिमा संलग्न छन । कुनै पनि पेशा र व्यवसाय बिना राजनीतिमा लागेको भरमा विलासी जीवन बिताउने र अदृश्य आम्दानीमा मोजमस्ती गर्नेको दाँजोमा विवेकशील साझाका नेताको जीवन शैली आदर्शयोग्य छ ।

साझा र विवेकशिलका नेताकार्यकर्तालाई पुनर्मिलन पछि पनि नेकपामा झैँ अप्ठ्यारोसँगै बस्न किन पनि छैन भने यिनीहरु फुट्दा पनि त्यतिधेरै सहन गर्न नसक्ने आरोप र दोषी करार गरेर सार्वजनिक मञ्चमा सत्तोसराप गरेका थिएनन । अपेक्षाकृत कम गालीगलौज र असहमतिलाई सु–संस्कृतिक तवरबाट नै राखेको दृष्टान्तहरु छन् । सहज घुलमिल र मतैक्यता राख्न सक्छन । विवेकशील र साझाले आफ्ना पुराना सहकर्मी र नेतृत्व गण किन एकता प्रक्रियामा सामेल बनेनन् त्यसको समुचित जवाफ दिनु पर्छ । विवेकशील पार्टीका परिकल्पनाकार उज्जवल थापाको शिथिलता र निष्कृयता अनि मौनताको अर्थ पनि राजनीतिमा खोजिने विषय बन्छ ।

पद्धति, पारदर्शी, इमान्दारिता र उत्कृष्टताको प्रत्याभूत गर्ने, सहभागीतामूलक लोकतन्त्रको विकास, युवा पुस्ताको भावना र आकांक्षालाई सम्बोधन गर्ने, जनसमर्थनको दुरुपयोग नगर्ने, एकल सिद्धान्त दर्शन र विचारधारामा विश्वास नगर्ने जवाफदेही र जिम्मेवारी निर्वाह गर्ने, आफ्नै पालामा समृद्ध र समुन्नत नेपाल निर्माण गर्ने उद्देश्य साकार र सफलीभूत बनाउन गर्नु पर्ने काम लिनुपर्ने नीति र बहन गर्नुपर्ने क्षमता सामना गर्नुपर्ने अप्ठ्यारो थोरै छैनन् । एउटा सानो क्लब र सदाचार र सुशासनको अभियानबाट राजनीतिक दलमा परिवर्तन गर्न पर्ने टड्कारो देख्छन् विवेकशील साझा पार्टीलाई, राजनीतिक विश्लेषकहरु ।

नेपाली माटोको नेपाली मौलिकता सहितको पार्टी बन्ने कि पुराना पार्टी झैँ विदेशी शक्ति तिनको आशीर्वाद र धापमा रहने पार्टी निर्माण गर्ने ? आफ्नै बुतामा विश्वास गर्ने कि अरुकै भरिया बनेर सत्तामा उक्लने भर्‍याङमा रुपान्तरण हुने ? देशमा कम्तिमा एउटा मात्रै पार्टी पनि सदाचारी स्वच्छ, पारदर्शी, अनुशासित एवं सार्वजनिक जवाफदेही बन्न सक्ने हो भने अरु पार्टी पनि कि सुधारिनु पर्ने कि सिद्धिनु पर्ने हुन्छ तसर्थ नैतिक दवाव दिन पनि एउटा पार्टी सुसंगत र सु–संस्कृत बनोस्, जसको नेतृत्व विवेकशील साझाले नै गरोस् शुभकामना । विवेकशिल साझाको रियुनियन नेपाली उन्नत राजनीतिको कोसे ढुङ्गो बनोस् ।

प्रतिक्रिया दिनुहोस्