
काठमाडौं, साउन २४ । नेपालले ओमानमा पाँच राष्ट्र सम्मिलित टी–ट्वेन्टी क्रिकेट प्रतियोगिता खेल्ने भएको छ ।
ओमान क्रिकेट संघले आगामी असोज १८ देखि २३ गतेसम्म सन्चालन गर्ने उक्त प्रतियोगितामा नेपालसँगै आयोजक ओमान, हङकङ, नेदरल्यान्ड्स र आयरल्यान्डले प्रतिस्पर्धा गर्नेछन् ।
नेपालले असोज १९ गते हङकङसँग पहिलो खेल खेल्नेछ ।
यस्तै, असोज २० गते नेदरल्यान्ड्ससँग, असोज २२ गते आयरल्यान्डसँग तथा असोज २३ गते आयोजक ओमानसँग खेल्नेछ ।
उक्त प्रतियोगितालाई विश्वकप छनोटको अभ्यास खेलकारुपमा हेरिएको छ ।
ओमान क्रिकेट संघले पहिले नै आयोजना गर्ने भनेर तय गरेपनि नेपालले विश्वकप छनोटको यात्रा तय गर्न नसकेपछि खेल्ने कि नखेल्ने भन्ने अन्योलता थियो ।
‘आइसीसी’ले उक्त प्रतियोगिता खेल्न अनुमति दिएपछि नेपालले खेल्ने पक्का भएको हो ।
नेपाल क्रिकेट संघ (क्यान) आइसीसीको निलम्बनमा परेको छ । नेपालले अन्तर्राष्ट्रियस्तरमा सहभागिता जनाउने सबै प्रतियोगिता आइसीसीको रेखदेखमा हुँदै आएका छन् । रासस
प्रतिक्रिया दिनुहोस्