४ भाद्र २०८२, बुधबार | Wed Aug 20 2025


५०० दरको नेपाली र भारतीय नक्कली नोट छाप्ने चार जना पक्राउ


0
Shares

कैलाली, साउन २४ । कैलाली प्रहरीले नक्कली नोट र त्यस्ता नोट छाप्न प्रयोग हुने मेसिनसहित चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा कैलालीको चुरे गाउँपालिका–१ का खगे्रन्द्र रजवार, भोजबहादुर बम, धनगढी उपमहानगरपालिका–३ का पल्लभराज भट्ट र महोत्तरी बर्दिवास नगरपालिका–६ का गोकुल खड्का छन् ।

धनगढी उपमहानगरपालिका–१ को नैनादेवी टोलबाट पक्राउ गरिएका उनीहरुलाई आज पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको हो । प्रहरीका अनुसार उनीहरुको साथबाट खोटा नोट छाप्ने एक थान मेसिन, नोट छाप्न प्रयोग भएको २२० थान सेतो पेपर लगायतका नेपाली र भारतीय नक्कली नोट समेत बरामद गरिएको छ ।

उनीहरुबाट छापेर काट्न बाँकी रहेको नेपाली ५०० दरको ९८ नोट, ५०० कै भारतीय ८६ नोट, भारतीय ५ सय दरको पछाडीको भाग छापिएको ४ नोट बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुमाथि अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

यस्तै, प्रहरीले यसअघि नक्कली नोटसहित पक्राउ परेका थप ३ जनालाई पनि आजै सार्वजनिक गरेको छ । सार्वजनिक गरिएकामा कैलारी गाउँपालिका–५ का छेदुराम डगौरा चौधरी, भारतको लखिमपुर खिरी बस्ने श्रवण कुमार सिंह र सोही ठाउँका गुरुजीत सिंह छन् ।