६ माघ २०८१, आइतबार | Sun Jan 19 2025


मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडकमा स्थानीयको अवरोध


0
Shares

रसुवा, मंसिर २७ । रसुवाको मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक शनिबार (आज)देखि बन्द भएको छ ।

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडकमा पर्ने जग्गाको मुआब्जा निर्धारणका लागि उचित मूल्यांकन नगरेको भन्दै स्थानीयले सडक बन्द गरेका हुन् ।

टिमुरेस्थित तातोपानी क्षेत्रमा पर्ने जग्गाको मुआब्जा निर्धारणमा स्थानीय प्रशासनले उचित मूल्यांकन नगरेको भन्दै गल्छी–त्रिशूली–मैलुङ–रसुवागढी सडक संघर्ष समितिले सडक बन्द गराएको हो ।

उक्त क्षेत्रमा २०७३ सालमा प्रतिआना छ लाख रुपैयाँ निर्णय गरिएको थियो भने अहिले तीन लाख ८० हजार रुपैयाँको दरले दिने निर्णय गरिएको छ ।

आफ्ना माग पूरा नहुन्जेलसम्म मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक पूर्णरुपमा बन्द हुने समितिले जनाएको छ ।

सडक बन्द हुँदा चीनबाट नेपाल भित्रिएका सामान बोकेर गन्तव्यतर्फ जान लागेका सवारी बीचमै रोकिएका छन् ।