१० भाद्र २०८२, मंगलबार | Tue Aug 26 2025


झाडापखालाबाट एकै गाउँका २५ जना बिरामी


0
Shares

संखुवासभा, साउन २३ । संखुवासभाको पाँचखपन नगरपालिका–४, होक्सेमा दुषित पानीका कारण झाडापखाला फैलिएपछि एकै गाउँका २५ जना बिरामी भएका छन् ।

गएको आइतबारदेखि होक्सेको माझगाउँटोलमा झाडापखाला सुरु भएको थियो ।

झाडापखालाबाट गम्भीर बिरामी तीनजना बालबालिकासहित ९ जना पुरुष र १६ जना महिला रहेका छन् ।

सिकिस्त बिरामी परेका भेषराज बस्नेत र उनकी नातिनी रोषितालाई थप उपचारका लागि जिल्ला अस्पताल खाँदबारी पुर्‍याइएको छ ।

६ घरपरिवारका बिरामीहरुले नजिकै रहेको कुवाको पानी प्रयोग गर्दा आफूहरु बिरामी परेको आशंका गरेका छन् ।

अहिले प्रभावित क्षेत्रमा पाँचखपन नगरपालिकाका स्वास्थ्य संयोजक राजकुमार यादवको संयोजकत्वमा वाना प्राथमिक स्वास्थ्य केन्द्रबाट र लिङलिङ स्वास्थ्यचौकीबाट एक/एकजना अहेब तथा सहरी स्वास्थ्य इकाइबाट एकजना अनमीको टोली खटिएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय खाँदबारीका सूचना अधिकारी रोशन श्रेष्ठले प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीबाट उपचार भइरहेकाले झाडापखाला अहिले नियन्त्रणमा रहेकोे बताए ।