
सोल, साउन ४ । दक्षिण कोरियाली पूर्वराष्ट्रपति पार्क गेउन हाइलाई थप ८ वर्ष जेल सजाय सुनाइएको छ ।
सोलस्थित एक अदालतले शुक्रबार उनलाई यसअघि दिइएको सजायमा ८ वर्ष थपेको हो । उनले गरेको भनिएको भ्रष्टाचारको अनुसन्धानकाक्रममा यो सजाय थपिएको हो ।
यसअघि नै उनलाई २४ वर्षको जेल सजाय भएको थियो । उनीमाथि लागेको भ्रष्टाचारसम्बन्धी मुद्दामा गत महिनामात्र २४ वर्ष जेल र एक करोड ७० लाख अमेरिकी डरल बराबरको जरिवनाको सजाय सुनाइएको थियो ।
दक्षिण कोरियाको राजधानी सोलस्थित एक अदालतकाअनुसार उनले अब ३२ वर्षको लामो जेल सजाय व्यहोर्नुपर्ने भएको छ । पूर्वराष्ट्रपति हाइ थुनामै रहेकी छन् ।
सन् २०१७ को मार्च महिनामा भ्रष्टाचारको आरोपमा उनलाई नियन्त्रणमा लिइएको थियो । त्यसयतादेखि नै उनी थुनामै रहँदै आएकी छन् ।
उनले गरेको भ्रष्टाचारको प्रकृतिअनुसार उनलाई कम्तीमा पनि ३० वर्षको जेल सजायको माग यसअघि नै सरकारी वकिलले गरेका थिए ।
पार्क ६६ वर्षकी छिन् । उनी दक्षिण कोरियाको पहिलो महिला राष्ट्रपति भएकी थिइन् । उनीमाथि राष्ट्रपति पदमा रहँदा शक्तिको दुरुपयोग गरेको आरोप लागेको हो ।
भ्रष्टाचारको संलग्नता यहाँको प्रारम्भिक अदालतले प्रमाणित गरेपछि उनलाई संसदमा महाअभियोग लगाएर बर्खास्त गरिएको थियो ।
दक्षिण कोरियाको पहिलो महिला राष्ट्रपति उनी यसरी महाअभियोग लगाएर निकालिएको पनि यस देशको पहिलो राष्ट्रपति नै हुन् । रासस/एएफपी
प्रतिक्रिया दिनुहोस्