
काठमाडौं, मंसिर २२ । भारतको औषधि निर्माता कम्पनी सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई)ले कोरोनाविरुद्धको खोप प्रयोगका लागि सरकारसँग आपत्कालीन प्रयोगको अनुमति मागेको छ ।
एसआईआईले अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधि निर्माता कम्पनी एस्ट्राजेनेकासँगको सहकार्यमा कोरोनाविरुद्धको खोप विकास गरिरहेको छ ।
भारतीय औषधि महानियन्त्रक (डीसीजीआई)सँग यसअघि अमेरिकी कम्पनी फाइजरले खोपको आपत्कालीन प्रयोगका लागि अनुमति मागिसकेको छ ।
एसआईआईले चार करोड ‘डोज’ खोप बनाइसकेको र डीसीजीआईले यसलाई भन्डारण गर्ने अनुमति पाइसकेको छ ।
एसआईआईले अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकासँगको सहकार्यमा भारतमा कोभिसिल्ड नामक कोरोनाको खोप उत्पादन गरिरहेको छ ।
एसआईआईका प्रमुख कार्यकारी अधिकृत अदार पुनावालाले कोभिसिल्डको आपत्कालीन प्रयोग गर्न अनुमति मागेको बताएका छन् ।
उनका अनुसार एसआईआईले पहिलो चरणअन्तर्गत् १०० करोड डोज उत्पादन गर्नेछ ।
उनले सन् २०२१ को पहिलो र दोस्रो त्रैमासिकसम्म उक्त परिमाणको खोप उत्पादन भइसक्ने बताए ।
एसआईआईले भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद्को निगरानीमा खोपको तेस्रो चरणको ‘क्लिनिकल’ परीक्षण गरेको थियो ।
कोभिसिल्ड सुरक्षित रहेको र लक्षित व्यक्तिमा प्रभावकारी देखिएको कम्पनीको दाबी छ ।
कोभिसिल्ड दुईदेखि आठ डिग्री सेल्सियससम्मको तापक्रममा भन्डारण र ओसारपसार गर्न सकिने दाबी गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्