काठमाडौं, साउन २१ । भारतीय संसदमा जम्मु काश्मीरको मुद्दामा गरमागरम बहस भैरहेका बेला नेपालको संसदमा पनि यो विषयले प्रवेश पाएको छ ।
यो विषयलाई संसदमा लिएर आएका हुन्, नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ।
मंगलवारको प्रतिनिधिसभा बैठकमा सुवालले भारत सरकारको जम्मु काश्मिरलाई विशेष राज्यको सूचीबाट हटाउने निर्णयले नेपालमा पर्ने असरबारे जानकारी गराउन माग गरेका हुन् ।
बैठकको विशेष समयमा सांसद सुवालले भारतले जम्मु काश्मिर र लद्दाखलाई दुईवटा केन्द्र शासित राज्यमा विभाजित गरेको घटनाले नेपालमा कस्तो असर पर्छ भन्नेबारे संसदलाई जानकारी गराउन माग गरे ।
‘जम्मु काश्मिर र लद्दाकलाई दुईवटा केन्द्र शासित राज्यमा विभाजित गर्यो,’ सांसद सुवालले भने, ‘यो घटनाबाट भुटान र नेपालमा के–कस्तो असर पर्छ सरकारले सदन र जनतालाई जानकारी गराउन आवश्यक छ।’
सार्क बैठक नहुनुमा भारत सरकारको यो कदमको तयारी त होइन भन्ने प्रश्नसमेत सुवालले गरे । प्रधानमन्त्री र मन्त्री खुरुखुरु विदेश गएर सहिछाप गर्न नहुनेतर्फ सचेत हुन पनि उनले भने ।
भारत सरकारले जम्मु काश्मिरलाई विशेष राज्यको सूचीबाट हटाउन संसदमा संशोधन विधेयक पेश गरेको छ ।
भारतले एकएक पाइलामा नेपाली भूभागको अतिक्रमण गरेको आरोप लगउँदै ‘नेपालको दशगजा र सीमामै भारतले अन्तर्राष्ट्रिय कानुन विपरीत बनाएका पाँच दर्जन बढी बाँध सडकजस्तो बाँध र तटबन्ध भत्काउन पहल गर्न सभामुख मार्फत् प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण गर्न चाहन्छु’ उनले भने ।









प्रतिक्रिया दिनुहोस्