४ आश्विन २०८०, बिहिबार | Thu Sep 21 2023


जनतालाई राहत पुग्ने काम गर्नोस् : सभामुख महरा


0
Shares

काठमाडौं, साउन ४ । सभामुख कृष्णबहादुर महराले कानुन निर्माणमा संघ र प्रदेशका सांसदहरुको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

जनसंख्या र विकासका लागि सांसदहरुको मञ्च नेपालले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा उनले संविधान कार्यान्वयनको चरणमा रहेकाले विशेषगरी प्रदेशका सांसदहरुको भूमिका महत्वपूर्ण हने बताए ।

मुुलुक राजनीतिक स्थायित्वको बाटोमा रहेकाले सांसदहरुको भूमिका मुलुकको समृद्धि र आर्थिक विकासमा हुनुपर्नेमा उनले जोड दिए ।

अहिलेको सरकारप्रति जनअपेक्षा बढ्दो रहेको भन्दै महराले जनतालाई राहत पुग्ने काम गर्न प्रदेश सांसदहरुसँग आग्रह पनि गरे ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देवप्रसाद गुरुङ र नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले जनताका मुद्दामा सांसदहरुले प्रभावकारी भूमिका खेल्ने वातावरण नभएको बताए ।

सरकारका राम्रा र नराम्रा कामलाई समर्थन र विरोध गर्नुपर्ने भन्दै उनीहरुले पार्टीभन्दामाथि उठेर सांसदहरुले काम गर्न नसकेको बताए ।

कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, राष्ट्रिय  योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णीम वाग्ले, पूर्वमहान्यायाधिवक्ता हरि फुँयाललगायतले कानुनको अवधारणा, कानुन निर्माणमा सांसदहरुको भूमिका र प्रयोगकाबारेमा कार्यपत्र प्रस्तुत् गरेका थिए ।