१० भाद्र २०८२, मंगलबार | Tue Aug 26 2025


सिंहदरबार वैद्यखानाको उत्पादन झन्डै आधाले घट्यो


0
Shares

प्रज्ञा तिमल्सिना र दिलिप पोखरेल (इमेज)

काठमाडौं, साउन २० । शासक र भाइ–भारदारको उपचार गराउने उद्देश्यले प्रताप मल्लको समयमा हनुमानढोकामा स्थापना गरिएको  आयुर्वेदिक औषधि उत्पादन गर्ने सिंहदरबार वैद्यखानाको शाख पछिल्लो समय खस्कँदै गएको छ ।

कुनै समय आयुर्वेदिक औषधि उत्पादनमा निकै परिचित वैद्यखानाको व्यवस्थापन पक्ष फितलो हुँदा यसको अस्तित्वमा नै प्रश्न उठेको छ ।

तत्कालीन राजा त्रिभुवन शाहले सर्वसाधारणको पहुँचमा ल्याएको सिंहदरबार वैद्यखाना २०५१ सालदेखि विकास समितिमार्फत् सन्चालन हुँदै आएको थियो ।

आयुर्वेदिक उपचारमा एकछत्र राज गर्न सफल र निकै परिचित वैद्यखानाको व्यवस्थापन पक्ष २०६९ सम्म सबल नै थियो ।

कुनै समय १२५ थरिका औषधि उत्पादन गर्ने वैद्यखाना अहिले ७८ प्रकारका औषधि उत्पादनमा सीमित भएको छ ।

वैद्यखानाले आर्थिक वर्ष २०७४/७५ मा ६ करोड रुपैयाँ मूल्य बराबरको औषधि उत्पादन गरेको थियो ।

प्रबन्ध निर्देशक फेरबदलमा रुमल्लिँदा वैद्यखाना अस्तव्यस्त भएको छ ।

सेवा–सुविधामा कमी आएको जनगुनासो बढेको भन्दै स्वास्थ्यमन्त्री उपेन्द्र यादवले गत साउन १५ गते सिंहदरबार वैद्यखानाको निरीक्षण गरेका थिए ।

५० जनाको दरबन्दी रहेकोमा चारजनामात्र कर्मचारी देखेपछि उनले प्रबन्ध निर्देशक डा. वंशदीप खरेललाई सात दिनभित्र प्रगति विवरण र कार्ययोजना तयार गर्न निर्देशन दिएका थिए ।

तर, प्रबन्ध निर्देशक डा. खरेलले भने त्यसदिन पाँचजनामात्र कर्मचारी बिदामा बसेको र अरु सबै कर्मचारी काम गरिरहेको दाबी गर्छन् ।

वैद्यखानाको च्यवनप्रास, शीलाजित र तुलसी चिया उपभोक्तामाझ निकै लोकप्रिय छन् ।

हाल तीन करोड रुपैयाँसम्मको आयुर्वेदिक औषधि उत्पादन गर्दै आएको दाबी गर्ने वैद्यखानालाई सरकारले वर्षेनि अनुदानस्वरुप दुई करोड दिने गरेको छ ।

प्रबन्ध निर्देशक डा. खरेलले अबको केही दिनमा स्वास्थ्यमन्त्रीलाई आफ्नो कार्ययोजना बुझाउने र व्यवस्थितरुपमा चलाउने प्रतिबद्धता व्यक्त गरे ।

स्वदेशी जडीबुटीको उपयोग गर्दै आयुर्वेदिक औषधि उत्पादन गर्ने संस्थालाई सरकार र कर्मचारीले बेवास्ता गर्दै जाने हो भने यसको अस्तित्व नै धरापमा पर्ने खतरा देखिन्छ ।

भिडियो हेर्नुहोस्