
चितवन, साउन ४ । चितवनको रत्ननगर नगरपालिकाले चालू आर्थिक वर्षबाट गाईलाई सुत्केरी भत्ता कार्यक्रम सुरु गरेको छ ।
नगरपालिकाको पशुपक्षी शाखाका प्रमुख शालिग्राम पौडेलकाअनुसार साउन १ गतेदेखि लागू हुनेगरी गाईलाई सुत्केरी भत्ता दिन सुरु गरिएको हो ।
‘अब साउन १ गतेबाट ब्याएका गाईले भत्ता पाउनेछन् । नगरपालिकाबाट पारित भइसक्यो । कार्यविधि बनेपछि वितरण सुरु हुन्छ । तर, त्यसका लागि प्रमाण भने पुर्याउनुपर्ने हुन्छ’–उनले भने ।
भत्तास्वरुप प्रतिगाईलाई रु ५०० दिइनेछ । किसानलाई गाईपालनमा प्रोत्साहनका लागि यस्तो कार्यक्रम ल्याइएको हो ।
गाई ब्याउनेबित्तिकै किसानले खबर गरेमा पशु प्राविधिक किसानकै घरमा पुगेर अभिलेख राख्ने र उपयुक्त समय मिलाएर भत्ता वितरण गरिने नगरपालिकाको पशुपक्षी शाखाले जानकरी दिएको छ ।
प्रतिगाई एक हजारका दरले भत्ता दिने तयारी गरिएपनि नगरपालिकाले बजेट कटौती गरेकाले रु ५०० मात्रै दिन लागिएको हो ।
रत्ननगर नगरपालिका क्षेत्रमा करिब ३५ हजार गाई छन् भने व्यावसायिकरुपमा १०० गाईफार्म छन् । स्थानीय जातका गाईलेसमेत भत्ता पाउने पशु स्वास्थ्य प्राविधिक ईश्वर मिश्रले बताए ।
रत्ननगरमा कृत्रिम गर्भाधान गर्ने गाईको संख्या ६ हजार २०० छ । त्यसमा ७० प्रतिशत गाई सुत्केरी हुन्छन् भन्ने अनुमानले करिब चार हजार गाईलाई भत्ता दिने योजना बनाइएको उनको भनाइ थियो ।
यसका लागि रु ४० लाख बजेट माग गरिएपनि नगरपालिकाले रु २० लाख बजेट छुट्याएको प्राविधिक मिश्रले जानकारी दिए ।
थोरै गाईपालन गर्ने किसानलेसमेत भत्तास्वरुपको रकम पाउनु खुसीको कुरा भएको रत्ननगरका किसान काशिराम भुषालले बताए ।
‘यो रकमले केही हुने त होइन । तर, पनि सम्बोधन गर्यो, सम्झ्यो भन्ने हुन्छ नि !’-उनले थपे ।
सरकारले पशुपालन व्यवसायप्रति राम्रो ध्यान दिन नसक्दा धेरै व्यवसायी पलायन भइरहेकोसमेत किसान भुषालले बताए ।
रत्ननगर, जिरौनामा चारओटा गाईपालन गर्दै आएका डोलबहादुर बस्नेतको दुईओटा गाई ब्याउनेछन् । ‘अब गाई ब्याउनेबित्तिकै खबर गर्छु’–उनले खुसी व्यक्त गर्दै भने ।
रत्ननगरको पिठ्वास्थित हिमचुली दुग्ध उत्पादक सहकारीमा आवद्ध किसानका अहिले २५० गाई छन् । त्यसमध्ये आधा गाई ब्याउनेछन् ।
सहकारीका अध्यक्ष विष्णुप्रसाद लामिछानेले सुत्केरी भत्ता दिने कार्यक्रम सकारात्मक नै भएपनि रोग नियन्त्रणका विषयमा भने सरकारबाट सहयोग नपाएको प्रतिक्रिया दिए ।
रत्ननगमा प्रतिलिटर दूधको एक रुपैयाँ अनुदानको कार्यक्रमसमेत चलिरहेको छ । हिमचुली दुग्ध उत्पादक सहकारीले यसपटक दूधमा प्रतिलिटर रु एक रुपैयाँ अनुदानले चार लाख पाँच हजारको अनुदान वितरण गरेको छ ।
यस्तै, पाञ्चायन दुग्ध उत्पादक सहकारीले रु ८ लाख अनुदान वितरण गरेको जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्