काठमाडौं, साउन १९ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी संसदीय दलकी सचेतक पुष्पा भुसालले आफूहरुले उठाएका माग सम्बोधन भएमात्र सोमबार संसद सुचारु हुने बताएकी छन् । अन्यथा संसदमा आफूहरुको विरोध कायम रहने उनले बताइन् ।
आइतबार रिपोर्टर्स क्लव नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भनिन्, ‘हामीले उठाएका कुराहरु सम्बोधन भए भोलि (सोमबार) बस्ने संसद सुचारु हुन्छ । अन्यथा हामी संसद अवरुद्ध जारी राख्छौं ।’ उनले आफूहरु हिंसाको पक्षधर नभएको पनि स्पष्ट पारिन् ।
भुसालले सरकारबाट लोकतान्त्रिक मूल्य र मान्यताको आधारस्तम्भ भत्काउने काम भएमा आफूहरु त्यसको विरोधमा उत्रिने बताईन् । उनले भनिन्, ‘हामी मानवअधिकार, विधिको शासन, लोकतान्त्रिक मूल्य र मान्यता, प्रेस स्वतन्त्रताको पक्षमा छौं । संविधान विरोधी गतिविधि भए हामी त्यसको विरोध गर्छौं । यी सबै विषयहरु उठाउने महत्वपूर्ण थलो भनेको नै संसद हो । त्यही भएर हामीले यी विषयहरु उठाईरहेका छौं ।’
सर्लाहीमा असार ५ गते भएको कुमार पौडेल हत्या प्रकरणको बारेमा आफूहरु संसदीय छानबिन समिति गठन गर्नुपर्छ भनेर माग गरिरहेको पनि उनले सुनाईन् । उनले भनिन्, ‘यो घटनामा मानवअधिकारको उल्लंघन भएको छ । यो घटनामा संसदीय समिति गठन गर्नुपर्छ । यसबारेमा संसदले सरकारलाई आवश्यक निर्देशन दिनुपर्छ ।’
त्यस्तै, असार १४ र असार १५ गते भएका अन्य दुई घटनाको सवालमा पनि संसदीय समिति गठन गर्नुपर्ने आफूहरुको माग रहेको भुसालले सुनाईन् । राज्यले ईन्काउन्टरको नाममा नागरिकको हत्या गरेको उनको आरोप छ ।
उक्त घटनाको बारेमा सदनमा मात्रै होइन, सडकमा पनि आवाज उठिसकेको उनले बताईन् । उनले भनिन्, ‘यतिका धेरै आवाज र प्रश्नहरु उठिसकेपछि सरकारले सदनलाई जवाफ दिनुपर्छ । शान्तिपूर्ण तवरले आन्दोलन गर्दा पनि गोली चलाईएको छ । यो गलत भयो । गैरन्यायिक काम भएको छ । यसमा संसदीय छानबिन समिति गठन गर्नुपर्छ ।’
छानबिन समिति बनाउनका लागि सरकार किन तयार नभएको भन्दै उनले प्रश्नसमेत गरिन् ।
उनले यदि सर्लाहीका तीनवटै घटनामा सरकारले चालेको कदम ठिक छ भन्ने लागेको छ भने पनि त्यो कुरा संसदमा आएर ठिक हो भनेर भन्नुपर्ने आफूहरुको भनाइ रहेको बताइन् । उनले भनिन्, ‘संसदीय समिति भनेको न्यायिक समिति होइन, त्यसैले राज्य डराउनुहुँदैन । संसदमा उठेका विषयमा छलफल हुनुपर्छ । ईगोको कारण ईस्यु बनाउनु हुँदैन ।’
उनले भोलि बस्ने बैठक सुचारु गराउनको लागि आफूहरु तयार रहेको सुनाईन् । तर, संसद चल्ने वा नचल्ने भन्ने कुरा सत्तापक्षमा भर पर्ने पनि जिकिर गरिन् ।









प्रतिक्रिया दिनुहोस्