कक्षा १२ नतिजा एक महिना भित्र आउने « Image Khabar


कक्षा १२ नतिजा एक महिना भित्र आउने


Imagekhabar
१७ मंसिर २०७७, बुधबार ०९:२८

काठमाडौं । कक्षा १२ को परीक्षा दिएका विद्यार्थीले अबको ठीक एक महिनाभित्र नतिजा पाउने भएका छन् ।

विद्यार्थीको शैक्षिक सत्र प्रभावित नहुने गरी एक महिनाभित्र विद्यार्थीको हातमा नतिजा उपलब्ध गराइने भएको हो ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रध्यापक डाक्टर चन्द्रमणि पौडेलले विद्यार्थीको नतिजा महिना दिनभित्र दिने गरी तयारी थालिएको जानकारी दिनुभयो ।

यसबाट विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि बाटो खुल्ने भएको हो । यसका लागि देशभरका शिक्षकहरूसित समन्वयमा काम भइरहेको जनाइएको छ ।

परीक्षा बोर्डले एक साताभित्र उत्तरपुस्तिकाको परीक्षण पूरा गर्ने तयारी गरेको छ । कतिपय विषयको उत्तरपुस्तिका परीक्षण सुरु भइसकेको छ ।

विद्यालयमा सम्बद्ध विषयको शिक्षकले नै यसपटक विद्यार्थीको उत्तरपुस्तिका परीक्षण गर्ने भएकोले एक साताभित्र यो काम पूरा हुने विश्वास गरिएको अध्यक्ष पौडेलले बताउनुभयो ।

यसपटक कोरोनाका कारण सबै विद्यार्थीलाई आफूले नै अध्ययन गरेको विद्यालयमा परीक्षा दिने अवसर बोर्डले उपलब्ध गराएको थियो ।

यसैबीच, परीक्षा बोर्डले कोरोना भाइरसबाट प्रभावित भएर परीक्षा लिन नपाएका विद्यार्थीका लागि फेरि एक पटक अवसर दिने भएको छ ।

विद्यार्थीलाई पुनः परीक्षाको अवसर दिने र त्यसको सूचना आगामी १५ दिनको हाराहारीमा दिने बोर्डको तयारी छ ।

मसिर ९ गते सुरु भएको कक्षा १२ का विद्यार्थीको वार्षिक परीक्षा मंगलबार सकिएको हो । परीक्षामा चार लाखभन्दा बढी विद्यार्थी भौतिक रूपमै परीक्षामा सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्