गोरखा, साउन १८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टीभित्र गुट छाडेर अब एजेन्डामा बहस गर्ने बेला आएको बताएका छन् ।
प्रगतिशील लेखक संघ गोरखाले शनिबार गोरखा सदरमुकाममा आयोजना गरेको लेखनाथ न्यौपानेद्वारा लिखित ‘संघर्षको इतिहास’ पुस्तकको परिचर्चा कार्यक्रम बोल्दै उनले यस्तो बताएका हुन् ।
नेता भुसालले इतिहासलाई हेरेर नभइ नेपाली जनताको आगामी भविष्यलाई हेरेर पार्टीको कार्यदिशा निर्माण गर्ने बेला आएको भन्दै अब पार्टीभित्रको गुट–उपगुट त्यागेर अघि बढ्नुपर्नेे बताए ।
‘जनयुद्ध र सबैखालका आन्दोलन तथा वर्ग संघर्षका भोगाइबाट नेपाली मोडलको समाजवाद निर्माणको बाटो अहिलेको पुस्ताले कोर्नुपर्छ’–नेता भुसालले भने–‘अब अलमल गरेर बस्ने होइन ।’
चुनाव जित्ने र सत्तामा पुग्नेमात्र पार्टीको सपना भए अझै १० वर्षसम्म केही नगर्दा पनि हुने भन्दै उनले समाजवादमा पुग्ने हो भने नेपाली मोडलको कार्यदिशा निर्माण गरी अघि बढ्नुपर्नेमा जोड दिए ।
‘इतिहासमा यो गर्यौं, ऊ गर्यौं भनेर अल्झिने हो भने समाजवादमा पुग्न सकिँदैन, इतिहासबाट सिकेर अब यसरी अगाडि बढ्ने हो भनेर सबै कार्यकर्तालाई भन्न सक्नुपर्छ’–उनले भने–‘त्यसका लागि पार्टीभित्रको गुट–उपगुटमा अल्झिएर बस्नुहुँदैन ।’
नेता भुसालले अहिले नेपाल कम्युनिस्ट पार्टीलाई जनताले लेकमा पुर्याएको व्यंग्य गर्दै एकैपटक तराईबाट लेकमा पुग्दा पार्टीको जीवन लेकमा समायोजन हुन केही समस्या र अप्ठ्यारा आउनु स्वाभाविक भएको तर्क गरे ।
‘जसरी तराईमा बसोबास गर्दै आएको व्यक्तिलाई उच्च हिमाली भेग पुग्दा केही त्यहाँको वातावरणमा मिल्न समस्या हुन्छ, अहिले नेकपामा भएको पनि त्यस्तैमात्र हो । अरु ठूलो समस्या छैन’–उनले भने ।
नेता भुसालले १५ दिनभित्रमा सकिने जिल्ला कमिटीको एकताको काम टुंग्याउन १५ महिना लगाउने काम गलत भएको बताए ।
‘अखिर १५ दिनमै सकिने रहेछ, त्यति कामका लागि हामीले १५ महिना लगायौं । यसले राम्रो सन्देश जाँदैन’–उनले भने–‘यस्ताखालका कमी–कमजोरी अब हुन दिनुहुँदैन ।’ रासस









प्रतिक्रिया दिनुहोस्