१० भाद्र २०८२, मंगलबार | Tue Aug 26 2025


तनहुँमा डेंगुका बिरामी भेटिए


0
Shares

दमौली, साउन १८ । तनहुँमा डेंगुका बिरामी फेलापरेका छन् ।

तनहुँको म्याग्दे गाउँपालिका–१, गुणादीका १५ वर्षीय कैलाश थापामा डेंगु देखापरेको हो ।

ज्वरो आएर दमौली अस्पताल भर्ना भएका थापालाई थप उपचारका लागि गन्डकी मेडिकल कलेज पोखरा पठाइएकामा निजमा डेंगु देखिएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख रमेश बाराकोटीले जानकारी दिए ।

‘किशोरमा डेंगुको संक्रमण देखिएको पुष्टि भएको छ’–उनले भने–‘खासै जटिल समस्या छैन । उपचार भइरहेको छ ।’

किशोरमा डेंगु फेलापरेपछि म्याग्दे गाउँपालिकाका अन्य मानिसमासमेत डेंगु हुनसक्ने भएकाले सचेतना अपनाउन आग्रह गरिएको बाराकोटीले बताए ।

डेंगु लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो । एडिज इजिप्टाइ जातको लामखुट्टेले डेंगु भएकालाई टोकेर अरुलाई टोकेमा यो रोग सर्दछ ।

यो रोग मुख्यतः स्त्री जातिका एडिज लामखुट्टेकोे टोकाइबाट मानिसमा सर्ने चिकित्सक बताउँछन् ।

यो प्रजातिका लामखुट्टेले मुख्यतः सफा जमेको पानीमा अन्डा पार्दछ र साँझपख मानिसलाई टोक्ने गर्दछ । यो लामखुट्टेको खुट्टामा सेतो ‘मार्किङ’ र ढाडको माथिल्लो भागमा बीणा आकारका ‘मार्किङ’ रहेको हुन्छ ।

सुरुमा बिरामीमा धेरै टाउको दुख्ने, ज्वरो आउने, रिंगटा लाग्ने, जिउ, हात दुख्ने, आँखाको गेडी दुख्ने, शरीरको मासु पूरै दुख्ने डेंगुका लक्षण भएकाले यस्ता लक्षण देखिनासाथ स्वास्थ्य संस्थामा उपचारका लागि जानुपर्ने चिकित्सकको सुझाव छ ।

चिकित्सककाअनुसार डेंगुबाट बच्न घर वरपर पानी जम्ने खाल्डाखुल्डी पुर्ने, घरनजिक झाडी नराख्ने, लामखुट्टेको टोकाइबाट बच्न झुलको प्रयोग गर्नुपर्छ । रासस