अझै कतिन्जेल सँगै बस्छन होला ओली-प्रचण्ड ? « Image Khabar


अझै कतिन्जेल सँगै बस्छन होला ओली-प्रचण्ड ?


Imagekhabar
१४ मंसिर २०७७, आईतवार ०८:००

-संजिव कार्की

ओली–प्रचण्डको निजी कम्पनीको मर्ज नै नेकपा भएको हो । यहाँ ओली र प्रचण्ड दुई पात्रलाई प्रवृतिगत रुपमा ओली–प्रचण्ड नै सम्बोधन गर्दा पूर्व माओवादी केन्द्र र पूर्व नेकपा एमालेलाई अन्यथा हुने छैन । दुई अध्यक्षको हुकुम फरमान र तोक आदेश नै नेकपा भएको कुरामा कतै कसैलाई सम्भवत शंका नहोला भन्ने अभिप्रायले यी दुई कै छिनाझपटी आरोप प्रत्यारोप, लान्छना र आलोचनामा पार्टी बोल्छ पार्टीको गतिबिधि देखिन्छ । पार्टीको नीति र नियति बुझिन्छ । षडयन्त्र र मान अपमान थाहा हुन्छ । पोल खोलाखोल र अनेकन तानाबाना आरोह अबरोहबीच नेकपा एकीकरणको साँढे दुई वर्ष व्यतित भयो भने सरकार तीन वर्ष पुग्दैछ । यो समयमा एकले अर्कालाई खुइल्याउन, प्रशंसा गर्न मित्रता र शत्रुता गर्न सबै किसिमका अभिनय गरिए । अनायास एकीकरणको घोषणा गरेका ओली प्रचण्ड अनायास तिक्ततापूर्ण सम्बन्ध र उतारचढावमा पुगे ।

सबै बिधि र प्रक्रियाभन्दा फरक ढंगले भएको एकीकरण आन्तरिक युद्ध, पुनः युद्ध बिराम र पुनः युद्ध सबै नाटकीय स्वरुपका देखिन्छन् । आज मिल्छन भोलि बिहान उठ्दा बाझ्दै गरेको पाइन्छ । बेलुकीसम्म मिलिसकेर मध्यरातमा फेरि गाँड कोराकोर गर्छन । यो सबै देख्दा अभिनय क्षणिक प्रस्तुतीको हतारो जस्तो देखिन्छ । यी यावत घटना रहस्य र पर्दा खस्ने पर्दा उघार्ने दृश्य देख्दा कुन रासायनिक प्रतिक्रियाले यस्तो गरिरहन्छ होला अर्थात नेताहरू कुन तत्व सेवन गर्छन र अकस्मात मिल्छन अकस्मात झगडा गर्न मैदानमा उत्रन्छन ? धेरै कुरा छिटोभन्दा छिटो भएको पाइन्छ । घटनाक्रमले लिने मोड पुग्ने क्लाइमेक्स र हिटिंग कुलिंग असामान्य गतिमा बिकसित हुने, अल्पबिराम लाग्ने फेरि शुरु हुने देख्दा कुनै फिल्म हल या नाट्यशालाको दृश्य जस्तो भान हुन्छ र नेकपाका नेताहरु सिनेकर्मी, नाट्यकर्मी कै हाउभाउमा प्रकट हुन्छन विलुप्त बन्छन, सदृश्य हुन्छन ।

रोचक राजनीतिक प्रहसन भन्दा कम लाग्दैन नेकपाको आन्तरिक जनवादको अभ्यास । नेकपाको आन्तरिक कुरा जे भएपनि ऊ देशको सबैभन्दा मजबूत पार्टी र सरकार रुलिंग गर्ने संस्था हो । तसर्थ उसका हर गतिबिधि निर्णय, अभ्यास र शैली समयको उपलब्धताले आम नागरिकलाई प्रभाव र असर पर्छ । कम्युनिस्ट पार्टी, राजनीति र तिनको कुनैपनि गतिबिधिमा निरपेक्ष रहने एक आम सर्वसधारण पनि नेकपाले चाल्ने कदम यिनीहरुको झगडा र द्धन्द्धको मारमा परेको हुन्छ अत उनीहरुको मामला हो जेसुकै गरुन भनेर चुप लागेर बस्ने स्थिति छैन । केही बोल्न पर्छ बोलिन्छ । यद्यपी, यो काउकुती यो छेडखानी र यो विषयले नेकपाको बाक्लो छाला र श्रवणशक्ति गुमाएको कानमा पर्नु नपर्नुको अर्थ छैन । तथापि केही बिश्लेषण गर्न ओली कमरेडको जबाफी फायरको सहारा लिनु उपयुक्त छ । ओली लेख्छन ‘भत्काउने– बनाउने– फेरि भत्काउने’ यस्तो विषयलाई गर्वको विषय बताउनुहुन्छ। अझ थप, दिक्क लाग्यो भने, राजनीति छाड्न पनि पाइन्छ। विश्राम लिन पनि पाइन्छ। तर लोकतन्त्रमा पारदर्शिता र नैतिकता ठूलो विषय हो। प्रचण्डले ओलीलाई लोकतन्त्र सिकाउने अनि ओलीले प्रचन्डलाई नैतिकता दुवैमा रहेको विरोधाभाष रोचक छ । राजनीति छोड्न पनि र विश्राम लिनपनि पाइन्छ भन्ने शब्दको भाव पक्कै पनि मननीय छ । प्रचन्डले हेक्का राखे कि राखेनन् तिमीले छोड्दा पनि हुन्छ भन्ने भावार्थ उसै राखिएको होइन ।

ओली अर्को पनि च्यालेन्ज गर्छन् ‘म आज खुल्ला आह्वान गर्न चाहन्छु– त्यागको यो सिलसिला आजै सुरु गरौं ! बारम्बार सरकार र पार्टीको नेतृत्व गरेका कमरेडहरुले अब जिम्मेवारी नलिऔँ र नयाँ पुस्तालाई हस्तान्तरण गर्ने घोषणा गरौँ ! म यही दस्ताबेजलाई मेरो अध्यक्षको जिम्मेवारी हस्तान्तरणको औपचारिक लिखत बनाउन तयार छु ! के तपाई तयार हो ?

३५. नियमित र वैध आम्दानीको स्रोत नभए पनि कतिपय नेताहरुको जीवनशैली एकदमै विलासी भएको, कतिपय नेताहरुको वर्ग उत्थान भएको, बसाइउठाइ अपारदर्शी भएको कार्यकर्ता र जनताको टिप्पणी छ । म त यस विषयमा केही नबोलौंला, व्यक्तिगत विषय पनि नबनाउँला । तर दुनियाँको मुख थुन्न सकिन्छ र ? यस विषयमा छलफल गर्न, अनुसन्धान गर्न र सुधारको विशेष अभियान चलाउन म तयार छु । तपाईं यसमा तयार हुनुहुन्छ ? प्रचण्ड यसमा सहमत बन्लान र ? अबैध र अपारदर्शी बसाइउठाइको प्रहारको सोझो र सटिक अर्थ छ प्रचण्ड तयार होलान नहोलान तर यो तर्कका लागि तर्क हो यो विषय दुवैलाई गलेपासो बन्ने निश्चित छ त्यसैले सहमतिको बिन्दु भनेकै यो एक हो । आ–आफ्ना आपरदर्शिताबारे चु नबोल्ने मिलेर खाने भाग शान्ति मिलाउने । तर प्रश्नहरु उठेपछि जबाफ दिनु र नैतिकता देखाउनु पर्ने झिनो बाध्यता छ ।

ओलीले उठाएको अर्को अहंम सवाल हो । यो यति गम्भीर विषय हो, जसलाई यस्तै हो भनेर छाडन मिल्दैन । तपाईले पार्टीका नीति या विधान सम्बन्धि प्रश्नमा मात्रै मलाई लान्छित गर्नु भएको छैन, मुलुकको संविधान र कानुन आकर्षित हुने फौजदारी प्रकृतिका आरोप समेत लगाउनु भएको छ । यति गम्भीर आरोप लागेको मान्छे आत्मालोचना गरेर उम्किन सक्दैन ,आरोप पुष्टीहुँदा ऊ राज्यको कानुन र पार्टीको विधान अनुसार कार्यबाहीको भागिदार बन्नुपर्छ । तपाईलाई मेरो चुनौती छ कि आरोप पुष्टी गर्नुस् र राज्यको कानुन तथा पार्टी विधान अनुसार मलाई कारबाही गर्नुस, कि त आफ्नै सहयोद्धामाथिको निराधार आरोप लगाएर पार्टी एकता भंग गर्ने धृष्टताको जबाफदेही बन्न तयार हुनुहोस् ।’

अब पार्टी मिलनको लागि कि आरोप प्रत्यारोप खारेज गरेर रिसको झोकमा बेद पढिदैन पढिएन भन्नु पर्यो कि कानुन र संविधान मुताबिक आरोप प्रत्यारोप पुष्टी र प्रमाण खोजेर जानु पर्यो यो मध्ये उत्तम विकल्प हो सबै खारेज गरेर लाज पचाएर मिल्नु । अब मिले पनि छुटे पनि नेकपाका लागि यात्रा सहज र चुनौती रहित छैनन् । नैतिकता र इमानको प्रश्न विश्वसनीयतता र पारदर्शिताको प्रश्न पार्टी सदस्यले मात्रै होइन आम मान्छेले सोध्नेछन । आफ्ना आफ्ना काला हर्कत षडयन्त्र लान्छना सत्य असत्य सबैकुरा इतिहासमा अब दर्ज भै सक्यो भावी पुस्ता र राजनीतिमा चासो राख्नेको अध्ययनको लागि ओली र प्रचण्डले आफैंले लेखेर दस्ताबेज राखीदिए नवीन पुस्तालाई राजनीति बुझ्न र विश्लेषण गर्नेलाई सोको आधार पाउन उक्त दस्ताबेज १९ पन्ने र ३८ पन्नेको रुपमा इतिहासको खजानाको रुपमा रहने छ । सम्भवत अर्को पनि कुनै प्रतिवादको ठेली तयार होला या आत्मसमर्पणको बेलोबिस्तार सो पनि संग्रह गर्न लायक होला नहोला तर
इतिहासलाई आवश्यक दस्ताबेजको रुपमा रहने छ ।

कमरेडहरुको दोहोरी पढेपछि मेरो निस्कर्ष चै यस्तो रह्यो ।
कमरेड प्रचण्डले हानेको १९ पेज लामो क्षेपयास्त्रलाई ओली कमरेडले पनि सापेक्षित नरम र घुमाउरो शिष्ट शव्द चयनमा ३८ पेजको कडा लेटर बम थमाउनु भएछ । पढन मजा लाग्ने भाषा शैली, प्रहार गर्दागर्दै अझ कतिपय प्रसंग र भित्री कुरा अझ भनेको छैन र कहिल्यै भन्दिन भनेर दिएको खुल्दुली जनाउने वचन वद्दता गज्जब लाग्यो । आदरणीय कमरेडहरुले एक अर्काको पोल खोलेर,खोल्छु अझै भनेर भित्री वस्त्र समेत उतारेर सर्वाङ बन्नु भएको पाए । यद्यपी, हेर लाज नभएको भन्दै एक अर्कालाई कुरी कुरी गर्नु भएको पनि छ । फौजदारी मुद्दा लाग्ने आरोप ,देशद्रोही लान्छना राष्ट्रघात र भ्रष्टाचार सबैमा नेपालको कानुन आकर्षित हुनुपर्छ तर नेपाली जनताको सौभाग्य हाम्रा कमरेडहरु पुनः मिल्नु हुनेछ, कानुन र संबिधान बेहोसीको धोती मात्रै बन्ने निश्चितप्रायः छ ।

ओली कमरेडको चलख्याइमा पूर्वएमालेका कमरेड माधव र झलनाथलाई पर्दामा उतारिएको पाइन्न जबाफी फायरमा । प्रचण्डलाई बाटो खुला छ भन्ने स्पष्ट सन्देश छ तर फुटने प्रचण्डको ह्याउ यतिबेला नहोला । तसर्थ फुटन र जुटन पनि नसकेपछि बारम्बार जग हसाँउदै एक अर्काको सुरुवाल र त्यो भन्दा भित्रको वस्त्र तानातान गरेर मज्जा लिंदै प्रिय नायक कमरेडहरु पटकपटक मिलेको हेर्ने साइत रैतीलाई जुरिरहन्छ । अब कतिन्जेल सँगै बस्नुहुन्छ ? सँगै बस्न मात्र होइन राजनीतिमा नै रहन लाज लाग्नुपर्ने होइन र ? फेरि पनि मिलेर जाने चै कता ? जेल या अँध्यारो सुरुङ्ग ? आफ्नो आफ्नो अविश्वनीयता र लाचारी कमजोरी मात्रै छताछुल्ल पार्नु भएन पार्टीका हजारौं नेता कार्यकर्ताको भविष्य चौपट पारिदिनु भयो ।

आदरणीय कमरेडहरू मेरो निःशुल्क सल्लाह सुन्नुहोस । विद्रुप नौटङ्की अश्लील राजनीतिक हर्कत गर्नुभन्दा फुटनु जाती हो । परन्तु जुटमा बल छ तर पेण्डुलम भएर रहनु भन्दा नयाँ कोर्ष अघि बढाउन निकास निस्कनै पर्छ । पिलो सुकायो भने बल्झन्छ तर निचोरेर खिल (आँखा) झिक्दा तत्काल पीडा भएपनि दीर्घकालसम्म सुख प्राप्त हुनसक्छ । तैपनि पार्टी फूट लोकतन्त्रको लागि प्रतिकुल र गर्न नहुने अपराध र खप्न नसकिने पिडा हो भन्ने मेरो बुझाई छ तर पार्टी भएर पनि नबन्नु भन्दा फुटेर आ आफ्नो यात्रा तय गर्नु ठिक हो ।

प्रतिक्रिया दिनुहोस्