
काठमाडौं, जेठ ३० । नेपाल ट्रेड युनियन कांग्रेसको छैटौं महाधिवेशनमा प्रतिनिधिको टुंगो लाग्न नसक्दा बुधबार बन्दसत्र नै हुन सकेन ।
मंगलबारदेखि काठमाडौंमा सुरु भएको महाधिवेशनको बन्दसत्र नै हुन नसक्दा नेतृत्व चयन प्रक्रिया पनि प्रभावित हुने भएको छ ।
बिहीबार (भोलि) बन्दसत्र गरेर बिहीबार नै निर्वाचन गर्ने बताइएको छ ।
चार वर्ष ९ महिनापछि भएको महाधिवेशनमा १७ पदाधिकारीसहित ४४ पदमा चुनाव हुँदैछ ।
नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष खिलानाथ दाहाल र पूर्ववरिष्ठ उपाध्यक्ष पुस्कर आचार्यबीच प्रतिस्पर्धा हुने भएको छ । दुवैजनाले आ–आफ्नो समूहसमेत घोषणा गरिसकेका छन् ।
तर, समूहबिना नै वर्तमान उपाध्यक्ष पदमा रमा पौडेलले पनि अध्यक्षमा उम्मेदवारी दिने जनाएको छ ।
वर्तमान अध्यक्ष दाहालले श्रम, कानुन र सामाजिक सुरक्षा ऐन कायान्वयनका लागि आफू कटिबद्ध भएर लाग्ने बताए ।
पूर्ववरिष्ठ उपाध्यक्ष आचार्यले पाँच वर्षमा गिरेको नेपाल ट्रेड युनियन कांग्रेसको साख आफूले जोगाउने जिकिर गरे ।
यस्तै, पौडेलले गुटबन्दी र नेताको हस्तक्षेपका अन्त्यका लागि आफ्नो उम्मेदवारी भएको बताइन् ।
दाहाल समूहबाट वरिष्ठ उपाध्यक्षमा अयोध्याप्रसाद यादव, उपाध्यक्ष (खुला) बमबहादुर डिसी, डिपी अर्याल, उपाध्यक्ष (महिला) कल्पना अधिकारी, उपाध्यक्ष (सेवा) शंकर लामिछाने, उपाध्यक्ष (उत्पादन) युवराज लामा, उपाध्यक्ष (अनौपचारिक) नूर महम्मद रैन उम्मेदवार छन् ।
यसैगरी, महासचिवमा सञ्जय मिश्र, उपमहासचिव (खुला) जनार्दन निरौला, काजीमान श्रेष्ठ, उपमहासचिव (महिला) कमला लामिछाने, उपमहासचिव (सेवा) रञ्जन थापा, उपमहासचिव (उत्पादन) धीरेन्द्र सिंह, उपमहासचिव (अनौपचारिक) आत्माराम पौडेल, कोषाध्यक्ष रिसभ घिमिरे र सहकोषाध्यक्षमा ताराकुमारी राई छन् ।
त्यस्तै, आचार्य समूहबाट वरिष्ठ उपाध्यक्षमा महेन्द्रप्रसाद यादव, उपाध्यक्ष (खुला) तेजेन्द्रजंग कार्की, अजयकुमार राई, उपाध्यक्ष (महिला) इन्दिरा सापकोटा, उपाध्यक्ष (सेवा) नेत्रविक्रम थापा, उपाध्यक्ष (उत्पादन) ललितबहादुर श्रेष्ठ, उपाध्यक्ष (अनौपचारिक) आशा सिंह राठौर उम्मेदवार छन् ।
यसैगरी, महासचिव योगेन्द्रकुमार कुँवर, उपमहासचिव (खुल्ला) गणेशबहादुर केसी, ज्योति कोइराला, उपमहासचिव (महिला) राधिका कुइँकेल, उपमहासचिव (सेवा) सीताराम अवस्थी, उपमहासचिव (उत्पादन) ईश्वर परियार, उपमहासचिव (अनौपचारिक) राजेश पालिखे, कोषाध्यक्ष मोहनकुमार बस्नेत र सहकोषाध्यक्षमा सुशीला घिमिरेले उम्मेदवारी दिँदैछन् ।
निर्वाचनमा देशभरका एक हजार ४०० महाधिवेशन प्रतिनिधिले भाग लिँदैछन् ।
प्रतिक्रिया दिनुहोस्