
काठमाडौं, साउन १६ । पहिलोपटक भइरहेको विश्व टेस्ट च्याम्पियनसिप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा इंग्ल्यान्ड र अष्ट्रेलिया खेलिरहेका छन् ।
बर्मिङघममा सुरु भएको खेलमा टस जितेर अष्ट्रेलियाले पहिले ब्याटिङ गरिरहेको छ ।
खराब सुरुआत गर्नेक्रममा अष्ट्रेलियाले २ रन जोड्दा पहिलो विकेट गुमाएको थियो । १७ रन जोड्दा अर्को विकेट लिएको इंग्ल्यान्डका स्टुवार्ड ब्रोडले दुवै सफलता हासिल गरेका हुन् ।
इंग्ल्यान्ड र अष्ट्रेलियाबीचको टेस्ट खेल ‘एसेज सिरिज’अन्तर्गत् भइरहेको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले टेस्ट खेल्ने ९ टिमबीच प्रतियोगिता आयोजना गरेको हो ।
इंग्ल्यान्ड र अष्ट्रेलियासँगै भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, न्यूजिल्यान्ड, दक्षिण अफ्रिका र वेस्ट इन्डिजले भाग लिने सो च्याम्पियनसिपको लिग चरणका शीर्ष दुई टिमले उपाधिका लागि सन् २०२१ को जुन महिनामा इंग्ल्यान्डमा फाइनल खेल खेल्नेछन् ।
दुई वर्षको अवधिमा २७ शृंखला हुनेछन् । सबै टिमले ६/६ ओटा शृंखला खेल्नेछन् । यसमा तीन घरेलु मैदानमा र तीन विदेशी मैदानमा हुनेछन् ।
एक शृंखलामा कम्तीमा दुई र बढीमा पाँचओटासम्म टेस्ट खेल खेलिनेछन् । अंकका आधारमा शीर्ष दुई टिम फाइनलमा पुग्नेछन् ।
फाइनल खेल बराबरी वा ‘टाइ’ भएमा लिग चरणको अंकका आधारमा विजेता घोषित गरिने आइसीसीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्