१० भाद्र २०८२, मंगलबार | Tue Aug 26 2025


ताप्लेजुङ अस्पतालमा विरामीको चाप बढ्यो


0
Shares

ताप्लेजुङ । जिल्ला अस्पताल ताप्लेजुङमा विरामीको चाप ह्वात्तै बढेको छ । पछिल्ला केही दिनयता दैनिक सयौँको संख्यामा विरामीहरु अस्पताल पुग्ने गरेका छन् ।

एक हप्ता अघिसम्म दैनिक ५० जना विरामी आउने गरेकामा चार दिनयता दैनिक १ सयभन्दा बढी विरामी आएको अस्पतालले जनाएको छ ।

गाउँका स्वास्थ्य संस्थामासमेत रुघा, खोकी र ज्वरोका विरामीको चाप बढेको बताइएको छ

वर्षाका कारण पानीका मुहानहरु प्रदुषित हुने भएकाले अधिकांश पानीजन्य रोगका विरामी आउने गरेको निमित्त अस्पताल प्रमुख डा. सोनिङ लामाले बताए ।

विरामीको चाप बढेपछि स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको छ ।

दरवन्दी अनुसारका कर्मचारी नहुँदा लामो समयदेखि समस्याग्रस्त अस्पतालमा अहिले ४ जना डाक्टरले भ्याउनुपर्ने बाध्यता छ ।

अस्पतालमा पर्याप्त कर्मचारी नभएपछि प्रदेशको सामाजिक विकास मन्त्रालयमा पहल गरिएको डा. लामाको भनाइ छ ।

यता हालै कर्मचारी समायोजनले अस्पतालका ९ जना कार्यालय सहयोगी अन्यत्रै गएपछि विरामी र औषधीको व्यवस्थापन लगायतमा समस्या भएको बताइएको छ । जनस्वास्थ्यको गोदामबाट अस्पतालसम्म औषधी पुर्‍याउने कर्मचारी पनि छैनन् ।