Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


‘आराम गर्न विदेश भ्रमण गरिरहनु पर्दैन’ (भिडियो)


0
Shares

अक्कल कुँवर र नवीन स्थापित (इमेज)

काठमाडौं, साउन १५ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का एकजना अध्यक्ष पुष्पकमल दाहाल परिवारसहित मंगलबार दुबई भ्रमणमा गएका छन् ।

प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओली आउँदो शनिबार उपचार र आराम गर्नका लागि भन्दै सिंगापुर जाँदैछन् ।

भर्खरै भारतीय गुप्तचर विभाग ‘रअ’का प्रमुखको गोप्य नेपाल भ्रमणपछि हुन लागेका यी भ्रमणलाई कूटनीतिक र परराष्ट्र मामिला क्षेत्रले शंकाको घेरामा राखेका छन् ।

संघीय संसद प्रतिनिधिसभा विगत केही दिनदेखि लगातार अवरुद्ध छ । सर्लाही घटनाका विषयमा सत्यतथ्य छानबिन गर्न माग गर्दै विपक्षी दलहरुले संसद बैठक अवरुद्ध गरिरहेका छन् ।

सरकारको काम–कारबाहीका सम्बन्धमा आमनागरिकमा असन्तुष्टि छँदैछ ।

शासनसत्ताको नेतृत्व गरिरहेको नेकपाको आन्तरिक विवाद उत्कर्षमा छ ।

असार अन्तिम साता आएको बाढी तथा डुबानले प्रभावित मध्य र पूर्वी तराईका जिल्लाका नागरिकको राहतमा अझै समस्या छ ।

यी तमाम समस्याकाबीच प्रधानमन्त्री ओली स्वास्थ्य उपचार र आरामका लागि भन्दै शनिबार सिंगापुर जाँदैछन् । उपचारका लागि जान लागेका प्रधानमन्त्रीलाई धेरै प्रश्न पनि गर्न मिल्दैन ।

तर, विगतमा स्वास्थ्यमा समस्या आउँदा प्रधानमन्त्री ओलीको नेपालमै उपचार सम्भव भएको थियो । त्यतिबेला चिकित्सकले प्रधानमन्त्रीको सम्पूर्ण उपचार नेपालमै सम्भव भएको दाबीसमेत गरेका थिए ।

यसैगरी, पार्टीभित्रको विवाद समाधान गरी सरकारका काम–कारबाही प्रभावकारी बनाउन सहयोग गर्नुपर्ने बेलामा सत्तारुढ दलकै अर्का एकजना अध्यक्ष कुनै महत्वपूर्ण कारणबिना नै परिवारसहित दुबई भ्रमणमा छन् ।

मुलुकका विद्यमान समस्यालाई थाती राखेर महत्वपूर्ण कारणबिना गम्भीर र महत्वपूर्ण जिम्मेवारी भएका विशिष्ट व्यक्ति विदेश भ्रमणमा लाग्नु उचित नभएको टिप्पणी गर्छन्, परराष्ट्र मामिलाका जानकार निश्चलराज पाण्डे ।

त्यसो त अनेक बहाना बनाएर विगतमा पनि मुलुकका विशिष्ट व्यक्तिहरुले गोप्य राजनीतिक भेटघाटका लागि सिंगापुर, थाइल्यान्डलगायतका मुलुक जाने गरेको लुकेको विषय होइन ।

मुलुकका दुई ठूला राजनीतिज्ञको पछिल्लो विदेश भ्रमणलाई पनि राजनीतिक तथा कूटनीतिक वृत्तमा विदेशी भूमिमा आन्तरिक राजनीतिको जोड–घटाउ गर्ने प्रवृत्तिको निरन्तरता हुनसक्ने आशंका पनि गरिएको छ ।

पाण्डे मुलुकका विशिष्ट व्यक्तिहरुकाबारे अनावश्यक टिप्पणी उचित नभएपनि नेपालका विशिष्ट व्यक्तिले नै टीका–टिप्पणी गर्न बाटो खोल्ने गरेको बताउँछन् ।

यसअघि पनि पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाललगायतले उपचारको बहानामा सिंगापुर र थाइल्यान्ड गएर बाह्य मुलुकका राजनीतिज्ञ तथा कूटनीतिज्ञसँग घेटघाट गरेको समाचार सार्वजनिक भएको थियो ।

नेकपाका दुवै अध्यक्षको वर्तमान भ्रमणमा कुनै लुकेको एजेन्डा नभएपनि हालै भारतीय गुप्तचर प्रमुखको गोप्य भ्रमणपछि यी भ्रमण हुन लागेकाले शंकाको घेरा फराकिलो भएको छ ।

भिडियो हेर्नुहोस्