सरोज अधिकारी र दिलिप पोखरेल (इमेज)
काठमाडौं, साउन १५ । संसदीय छानबिन समिति बनाउन माग गर्दै प्रतिपक्ष नेपाली कांग्रेस र राजपाले बुधबार पनि संसद अवरुद्ध गरेका छन् ।
सरकार समिति बनाउनै नमान्ने र प्रतिपक्ष समिति नबनाइ संसद चल्न नदिने अडानकाबीच संसदमा बुधबार पनि विपक्षीले एक घन्टा नाराबाजी गरे ।
सर्लाहीमा प्रहरी ‘इन्काउन्टर’मा मारिएका भनिएका नेत्रविक्रम चन्द नेतृत्वको समूहका सर्लाही इन्चार्ज कुमार पौडेल र प्रदर्शनकाक्रममा प्रहरीको गोली लागी मृत्यु भएका सरोजनारायण सिंहको मृत्युबारे छनबिन गर्न विपक्षी दलहरुले लामो समयदेखि माग गरिरहेका छन् ।
उनीहरुले कुमार पौडेलको हत्या सुनियोजित भएको र सरोजनारायण सिंहको पनि हत्या भएको भन्दै संसदीय छानबिन समिति बनाउन माग गरेका हुन् ।
तर, सत्तारुढ नेकपा भने संसदीय छानबिन समिति बनाउन मानिरहेको छैन ।
सत्तारुढ दल नमानेकै कारण सभामुखले पनि छानबिन समिति बनाउनेबारेमा कुनै निर्णय लिनसकेका छैनन् । जसका कारण संसद दिनहुँ बस्ने र अवरुद्ध हुने भइरहेको छ ।
विपक्षी दलले मानवअधिकारको गम्भीर उल्लंघन गर्दै पौडेल र सिंहको हत्या राज्यपक्षबाट भएको दाबी गरिरहेका छन् । उनीहरुको भनाइ छ–‘छानबिन गरी दोषीलाई कारबाही हुनुपर्छ ।’
संसदको ‘वेल’ घेराउ गर्नेक्रममा विपक्षी दलहरुले ‘संसदीय छानबिन समिति बनाऊ’, ‘निर्मला पन्तको हत्यारालाई कारबाही गर’ र ‘मानवअधिकारको रक्षा गर’ भन्ने नारा लगाएका छन् ।
सरकार र सभामुखले संसदीय मर्यादालाई खिल्ली उडाएको भन्दै विपक्षी दलले आफूहरुको माग पूरा नहुँदासम्म संसद चल्न नदिने भनिरहेका छन् ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापा संसदीय सर्वोच्चता कायम गर्नका लागि आफूहरु संसद अवरोध गर्न बाध्य भएको बताउँछन् ।
संसदीय छानबिन समिति बनाउन तयार नहुनु भनेको सरकार अधिनायकवादको बाटोमा छ भन्ने पुष्टि हो भन्ने बुझाइ राजपा सांसद राजेन्द्र महतोको छ ।
सत्तारुढ दल नेकपा भने विपक्षी दलले निरर्थकरुपमा संसद अवरुद्ध गरेर प्रणालीलाई नै कमजोर बनाउन लागिरहेको आरोप लगाउँछ ।
नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ राज्य व्यवस्था समितिमा छलफल भइरहेको विषयमा समिति बनाउन आवश्यक नरहेको तर्क गर्छन् ।









प्रतिक्रिया दिनुहोस्