२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


१०१ वर्षीय रेग्मीलाई पोषण भत्ता


0
Shares

विराटनगर, साउन १४ । विराटनगर महानगरपालिका वडा नम्बर–३ निवासी १०१ वर्षीय नारायणप्रसाद रेग्मीलाई रु १२ हजार प्रदान गरी मंगलबारदेखि पोषण भत्ता अभियान शुभारम्भ गरिएको छ ।

महानगरप्रमुख भीम पराजुली र वडाध्यक्ष विनोद बस्नेतले ज्येष्ठ नागरिक रेग्मीको घरमै गइ उक्त रकम उपलब्ध गराउनाका साथै सँगै गएका चिकित्सकले उनको स्वास्थ्य परीक्षणसमेत गरेका थिए ।

यसैगरी, वडा नम्बर–३ निवासी ९३ वर्षीय कृष्णकुमार न्यौपानेको घरमै पुगेर रु १२ हजार भत्ता उपलब्ध गराइएको थियो ।

महानगरपालिकाले ८४ वर्ष उमेर नाघेका ज्येष्ठ नागरिकलाई पोषण भत्ताबापत मासिक रु एक हजार उपलब्ध गराउने निर्णयअनुसार एकमुस्ट रु १२ हजार प्रदान गरेकोे हो ।

महानगरप्रमुख पराजुलीले ८४ वर्ष उमेर नाघेका ज्येष्ठ नागरिक देवतातुल्य भएकाले उनीहरुको दर्शन र आशीर्वाद लिन घरदैलोमा पोषण भत्ता उपलब्ध गराउने अभियान सुरु गरिएको बताए ।

चाँडै नै निःशुल्क आँखा शिविर सन्चालन गरी ८४ वर्ष उमेरका ज्येष्ठ नागरिकलाई निःशुल्क चस्मा उपलब्ध गराउनाका साथै एक चिकित्सकलाई घरदैलोमै पुर्‍याएर स्वास्थ्य जाँच गरिने जानकारी दिँदै उनले ज्येष्ठ नागरिकहरुलाई लट्ठी र टर्चलाइटसमेत वितरण गरिने बताए ।

विराटनगर महानगरपालिकाभित्र ८४ वर्ष उमेर नाघेका एक हजार २४६ ज्येष्ठ नागरिकहरुको बसोबास छ ।

मंगलबारै विराटनगर–३ स्थित आदर्श उपभोक्ता मञ्चको भवनमा ८४ वर्ष उमेर नाघेका तीन ज्येष्ठ नागरिकलाई पोषण भत्ता वितरण गरिएकोे थियो ।

यस्तै, वडा नम्बर–३ का ७० ज्येष्ठ नागरिकलाई पनि मंगलबारै पोषण भत्ता वितरण गरिएको थियोे । रासस